Kathmandu Press

शीर्ष स्थानको जवलाखेल मनाङसँग रोकियो, एनआरटी र फ्रेन्ड्सले अंक बाँडे

आइतबार च्यासल मैदानमा भएको खेलमा जावलाखेल दुई गोलको अग्रता जोगाउन नसक्दा मनाङ मर्स्याङ्दी क्लबसँग २–२ गोलको बराबरीमा रोकिएको हो।
शीर्ष स्थानको जवलाखेल मनाङसँग रोकियो, एनआरटी र फ्रेन्ड्सले अंक बाँडे

काठमाडाैं, वैशाख ३१ : सहिद स्मारक ए डिभिजन लिगमा शीर्ष स्थानको जावलाखेल युथ क्लब बराबरीमा रोकिएको छ। आइतबार च्यासल मैदानमा भएको खेलमा जावलाखेल दुई गोलको अग्रता जोगाउन नसक्दा मनाङ मर्स्याङ्दी क्लबसँग २–२ गोलको बराबरीमा रोकिएको हो।

खेलमा अग्रता जावलाखेलले लियो । ३३औं मिनेटमा उसका लागि एनकोटो मासोबीको गोल गरेका थिए। पहिलो हाफ १–०मै सकियो। ७५औं मिनेटमा हिसुब थपलियाले जावलाखेलको अग्रतालाई दोब्बर बनाए।

तर, त्यसपछि १० मिनेटमा २ गोल गर्दै मनाङले शीर्ष स्थानको जावलाखेलसँग १ अंक खोस्यो। मनाङका लागि ८०औं मिनेटमा विशन गुरुङले गोल गरे भने ९०औं मिनेटमा सुमित श्रेष्ठले गोल गरे।

मनाङसँगको बराबरीपछि ३१ अंकसहित जावलाखेल शीर्ष स्थानमै छ। मनाङ भने २२ अंकसहित सातौं स्थानमा छ ।

आइतबार नै भएको अर्को खेलमा न्युरोड टिम (एनआरटी) र फ्रेन्ड्सले बराबरी खले । एन्फा कम्प्लेक्स मैदानम भएको खेलमा दुवै टिमले पनि २–२ गोलको बराबरी खेलेका हुन्।

खेलको २८औं मिनेटमा रफिक अमिनुले गोलमा फ्रेन्ड्सले अग्रता लियो। ५८औं मिनेटमा फ्रेन्ड्सका अमित तामाङले आफ्नै पोस्टमा गाल गरेपछि खेल १–१को बराबरीमा आयो।

६६औं मिनेटमा फ्रेन्ड्सले फेरि अग्रता लियो । उसका लागि अमित तामाङले पेनाल्टीबाट गोल गरेका थिए। ८९औं मिनेटमा एनआरटीका निकोलस सोङले गोल गर्दै खेललाई २–२को बराबरीमा ल्याए।

बराबरीसँगै एनआरटी २२ अंकका साथ आठांै स्थानमा छ भने फ्रेन्ड्स २० अंकका साथ ११औं स्थानमा छ।

प्रकाशित मिति: १८:३० बजे, आइतबार, वैशाख ३१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्