राप्ती तटका बासिन्दा अझैसम्म डुङ्गाकै भरमा
राप्तीपारिका आधा दर्जन गाउँका सर्वसाधारण अहिले पनि दैनिक डुङ्गामा नै जोखिम पूर्ण यात्रा गर्न बाध्य छन् ।काठमाडाैं, वैशाख २८ः बाँकेको राप्ती नदीको एउटा भङ्गालो खल्ला झगडिया हुँदै गङ्गापुरतिर अघि बढेको छ । त्यही भङ्गालो तर्न राप्तिपारीका स्थानीयले दैनिक डुङ्गा चढ्नुपर्ने बाध्यता रहेको छ ।
खल्ला झगडिया, कुडुवा, पिप्रहवालगायतका गाउँका बासिन्दा आफ्ना खेतबारी, आफन्त, हाट बजार गर्न डुङ्गा चढेर जाने गर्दछन् । खल्ला झगडिया गाउँभन्दा अलिकति अगाडि डुङ्गा सधैँ तयारी अवस्थामा रहन्छ ।
बाँकेको पूर्वी क्षेत्रमा रहेको राप्तीपारी सिधनियाघाटमा पुल बनेको पनि डेढ दशकभन्दा धेरै भइसक्यो । तर पनि त्यहाँका तटीय क्षेत्रका धेरै गाउँका बासिन्दा अहिले पनि डुङ्गाकै भरमा नदी तर्ने गर्दछन् । राप्तीपारिका आधा दर्जन गाउँका सर्वसाधारण अहिले पनि दैनिक डुङ्गामा नै जोखिम पूर्ण यात्रा गर्न बाध्य छन् । उक्त नदीमा सञ्चालित प्रायः डुङ्गा भारतबाट खरिद गरेर स्थानीयले चलाउने गर्दछन् ।
भारतबाट भाडामा ल्याइएको डुङ्गा हाल जितबहादुर पासीले ठेक्कामा चलाइरहेका छन् । उनले नदी तारेको प्रतिव्यक्ति १० रूपैयाँ, साइकलको १५ रूपैयाँ र मोटरसाइकलको ३० रूपैयाँ लिने गरेका छन् । एउटै डुङ्गामा ५० जनादेखि ६० जना सवार हुन्छन् । डुङ्गा चलाएर दिनमा आठ सयदेखि एक हजारसम्म आम्दानी गर्ने गरेको पासी बताउँछन् ।
डुङ्गा चलाएबापत उनले गाउँपालिकालाई वर्षीक ५० हजार दिने सम्झौता छ । स्थानीय सरकारले जनताको सहजताका लागि निःशुल्क डुङ्गा चढ्ने व्यवस्था गर्नुपर्ने डुडुवा गाउँपालिका–१, पिप्रहवाका कृष्णगोपाल यादवको धारणा छ ।
बीस वर्षदेखि राप्तीनदीमा डुङ्गाा चलाउँदै आएका नानबाबु पासीले भारतबाट भाडामा डुङ्गाा ल्याएर चलाइरहेको बताए । गत फागुन १७ गते सम्झौता सकिएपछि पालिकाले अरुलाई ठेक्का दिएको छ । हरेक शुक्रबार सीमावर्ती भारतीय गाउँ जानकीमा हाट बजार लाग्छ । हाट बजारमा तरकारी सस्तो पाइने भएकाले अधिकांश किनमेल गर्न जाने गरेका डुङ्गा चालक श्रवण विश्वकर्माले बताउँछन् ।
हाट बजारमा राप्तीपारिका होलिया, बेतहनी र फत्तेपुर बासिन्दा डुङ्गा तरेर जाने गर्दछन् । यो होलियाको पिप्रहवादेखि चार किलोमिटरको दूरीमा रहेको छ । भारतले राप्ती नदीमा बनाएको लक्ष्मणपुर बाँध नजिक पर्छ ।