विराटनगरमा नगर परिक्रमासहित क्रिकेट टिमलाई सम्मान
उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले संयुक्त रुपमा राष्ट्रिय टिमका खेलाडी र मुख्य प्रशिक्षकलाई विराटनगर नगर क्षेत्र परिक्रमा गराइएको थियो।
माेरङ, वैशाख २७ : एसिसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई विराटनगरमा भव्य सम्मान गरिएको छ। नेपाली क्रिकेट टिमलाई बुधबार विराटनगरमा नगरपरिक्रमासहित सम्मान गरिएको हो।
उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले संयुक्त रुपमा राष्ट्रिय टिमका खेलाडी र मुख्य प्रशिक्षकलाई विराटनगर नगर क्षेत्र परिक्रमा गराइएको थियो।
राष्ट्रिय टिमका खेलाडीलाई विमानस्थल हुँदै एयरपोर्ट मोड, पिपलचोक, बरगाछी, तीनपैनी चोक, मेनरोड, ट्राफिक चोक, रोडशेष चोक र महेन्द्र चोक हुँदै बरगाछीसम्मको दूरी परिक्रमा गराइएको थियो ।
उनीहरुलाई विमानस्थलमा कोशी प्रदेशका सामाजिक विकासमन्त्री बृद्धिकुमार राजभण्डारी, विराटनगर महानगरकी उपप्रमुख शिल्पा कार्कीसहित नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, उद्योग संगठनका अध्यक्ष सुयस प्याकुरेल र मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले स्वागत गरेका थिए।
खेलाडी र प्रमुख प्रशिक्षकलाई बुधबार साँझ विराटनगरवासीका तर्फबाट सम्मान गर्ने कार्यक्रम रहेको पूर्वखेलाडी पारस लुनियाले बताए ।











