Kathmandu Press

रेशम चौधरीको मुद्दामा अन्तिम सुनुवाइ, फैसला आजै आउने सम्भावना 

चौधरीलाई छुटाउन सहज हुने गरी सरकारले कानुनमा संशोधनको तयारी गरिरहेका बेला सर्वोच्चमा अन्तिम सुनुवाइ हुन थालेको छ।
रेशम चौधरीको मुद्दामा अन्तिम सुनुवाइ, फैसला आजै आउने सम्भावना 
Hardik ivfHardik ivf

काठमाडौं, वैशाख २५ : एक नाबालक र प्रहरीका एसएसपीसहित नौ जनाको हत्या अभियोग लागेका रेशमलाल चौधरीको मुद्दामा सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ शुरु भएको छ। सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इसलासमा सुनुवाइ शुरु भएको हो। 

चौधरीलाई छुटाउन सहज हुने गरी सरकारले कानुनमा संशोधनको तयारी गरिरहेका बेला सर्वोच्चमा अन्तिम सुनुवाइ हुन थालेको छ। चौधरी संरक्षक रहेको सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टी (नाउपा) कै दबाबमा सरकारले ‘केही नेपाल ऐन संशोधनसम्बन्धी विधेयक’ संसदमा लैजाने निर्णय गरिसकेको छ।

चौधरी पत्नी रञ्जिता श्रेष्ठ हाल सरकारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री छन्। सरकारलाई समर्थन गर्ने वेलामै रेशमलाई छुटाउने शर्त राखिएको आशंकाबीच विधेयकको गृहकार्य चलिरहेको छ। गत वैशाख १९ गते नै मन्त्रिपरिषद् बैठकले विधेयक संसदमा पेश गर्ने निर्णय लिइसकेको छ। चौधरीलाई छुटाउन सहज हुने गरी चाँडै संसदमा संशोधन विधेयक दर्ता गर्ने तयारीमा सरकार छ। 

दोहोरो सुनुवाइ सकिए आजै अन्तिम फैसला आउन सक्ने संभावना रहेको प्रतिवादी तर्फका कानुनव्यवसायी अधिवक्ता विकास भट्टराईले जानकारी दिए। थरुहट आन्दोलनका क्रममा टीकापुर हिंसामा मुछिएका चौधरीले कैलाली जिल्ला अदालत र उच्च अदालतबाट भएको जन्म कैदको फैसला त्रुटिपूर्ण भएको दाबीसहित खारेजीको माग गर्दै २०७७ फागुन १२ गते सर्वोच्चमा पुनरावेदन गरेका थिए। ‘डा.भट्टराई र सुवेदी श्रीमान्को बेञ्चमा सुनुवाई शुरु भइसकेको छ। दुबै तर्फको वहश सकिएमा आजै अन्तिम फैसला आउने संभावना पनि छ,’ प्रतिवादीका तर्फबाट वहश गर्ने अधिवक्ता भट्टराईले काठमाडौं प्रेससँग भने। 

चौधरीको पुनरावेदनमा यसअघि गत माघ २२ गते सर्वोच्चका न्यायाधीशद्वय टंकबहादुर मोक्तान र मनोज शर्माको संयुक्त इजलासले विपक्षी झिकाउने आदेश दिएको थियो। चौधरी हाल नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक छन्। चौधरीविरुद्ध टिकापुर हिंसामा संलग्न भएको दाबीसहित सरकारले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी गरी तीनवटा अभियोगमा मुद्दा चलाएको छ। 

कैलालीको टीकापुरमा ०७२ साल भदौ ७ गते भएको हिंसामा साढे दुई बर्षको बालक, प्रहरीका एसएसपी लक्षमण न्यापानेसहित नौजनाको हत्या भएको थियो। हिंसामा आठजना प्रहरीको क्रुर हत्या भएको थियो। हिंसापछि दुई वर्ष भारतमा रहेका चौधरीले २०७४ को निर्वाचनमा भारतबाटै वारेसमार्फत प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिँदै विजयी भएका थिए। चुनाव जितेपछि उनले जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका हुन्। जिल्ला अदालत कैलालीले चौधरीलाई ०७५ फागुन १२ गते जन्मकैदको फैसला सुनाएको थियो। 

हत्या प्रकरणमा चौधरीसहित अन्य ११ जना अदालतबाट दोषी ठहर भएका छन्। जिल्लाको फैसलाविरुद्ध परेको पुनरावेदनमा उच्च अदालत दिपायलले २०७७ पुस ३ गते तल्लो तहको फैसला सदर गरेपछि चौधरी सर्वोच्च पुगेका हुन्। चौधरी हाल डिल्लीबजार कारागारमा थुनामा छन्। उनको संरक्षकत्वमा गठन भएको नागरिक उन्मुक्ति पार्टी हाल सरकारमा छ। चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छन्। 

अभियुक्त चौधरी संरक्षक रहेको नाउपाले टिकापुर घटनालाई राजनीतिक आन्दोलन बताउँदै माफी दिनुपर्ने माग राख्दै आएको छ। चौधरीको पुनरावेदनमा यसअघि १० पल्टसम्म पेसी तय भए पनि सुनुवाइ हुन सकेको थिएन। 

प्रकाशित मिति: १५:२२ बजे, सोमबार, वैशाख २५, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्