कोरोना भाइरसको उपचार हुने टेकु अस्पतालमै आइसोलेसन वार्ड र आईसीयू कक्ष न्यून
काठमाडौं, माघ १५ : चीनमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस नेपालमा पनि देखिएको छ। तर, नेपालमा यसको उपचार हुने अस्पतालमा भने आवश्यक सुविधा न्यून रहे....
काठमाडौं, माघ १५ : चीनमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस नेपालमा पनि देखिएको छ। तर, नेपालमा यसको उपचार हुने अस्पतालमा भने आवश्यक सुविधा न्यून रहेको छ।
कोरोना भाइरसको उपचारका लागि सरकारले काठमाडाैंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई तोकेको छ। कुनै पनि व्यक्तिमा संक्रमण भएको शंका लागेमा शुक्रराज ट्रपिकल अस्पतालमा सम्पर्क गर्न अनुरोध गरेको छ। त्यस्तै, अन्य अस्पतालहरूलाई पनि त्यही रेफर गर्न आग्रह गरेको छ।
तर, कोरोना भाइरसको उपचारका लागि तोकिएको शुक्रराज ट्रपिकल अस्पतालमै आवश्यक सुविधाको अभाव छ। यसका लागि छुट्टै आइसोलेसन वार्ड चाहिन्छ। शुक्रराज ट्रपिकल अस्पताल भने एउटामात्रै आइसोलेसन वार्ड छ। जहाँ ६ बेडको व्यवस्था गरिएको छ।
तत्कालका लागि आइसोलेसन वार्ड व्यवस्थापन गरिएको अस्पतालका प्रवक्ता डा.अनुप बास्तोलाले बताए। ‘हाल अस्पतालमा ६ बेडको आइसोलेसन वार्ड राखिएको छ,’ प्रवक्ता डा.बास्तोलाले भने, ‘अहिलेसम्म यो रोगले भयावह रुप लिएको छैन । तर आवश्यक परे थप बेडका साथै अन्य अस्पतालसँग समेत समन्वय गर्नेछौँ।’
त्यस्तै, शुक्रराज ट्रपिकल अस्पतालमा आईसीयूको पनि प्रयाप्त व्यवस्था छैन। एक सय बेडको अस्पतालमा आईसीयूका चार बेड मात्रै छन्। त्यसमा पनि एउटा बिग्रिएको छ। यो अप्रयाप्त रहेको अस्पतालका निर्देशक डा.वासुदेव पाण्डे पनि स्वीकार्छन्। ‘आईसीयूको लागि छुट्याएको चारमध्ये तीन बेड सञ्चालनमा छन्,’ निर्देशक पाण्डेले भने, ‘यो हाम्रा लागि पर्याप्त भने होइन।’
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा इमर्जेन्सी, एचआईभी, मेडिकल, मेल-फिमेल वार्ड, स्पेसल वार्ड, आईसोलेसनलगायत वार्डहरु सञ्चालित छन्। तर, अहिले कोरोना भाइरसको उपचारका लागि भने प्रयाप्त व्यवस्था छैन।
कोरोना भाइरसको उपचारका लागि शुक्रराज ट्रपिकल अस्पताललाई तोकिएपछि बिरामीको चाप पनि बढेको छ। विगतको तुलनामा स्वास्थ्य परीक्षणका लागि आउनेको संख्या अत्यधिक बढेको अस्पतालका प्रवक्ता डा.बास्तोलाले बताए।
कोरोना भाइरस नेपालमा एक जनामा देखिएको छ। दुई जना शंकास्पद देखिएको भएपनि परीक्षणमा कोरोना भाइरस भेटिएको छैन।
चीनमा भने कोरोना भाइरसका कारण एक सय ३२ जनाको मृत्यु भइसकेको छ। ६ हजारभन्दा बढी व्यक्तिमा यसको संक्रमण भेटिएको छ। यो क्रम बढ्दै गएको चीनले जनाएको छ।
त्यस्तै, यो भाइरस अन्य देशमा पनि पुगेको छ। अहिलेसम्म १७ देशमा पुगेको विश्व स्वास्थ्य संघले जनाएको छ। चीनमा यसले महामारीको रुप लिन थालेपछि विभिन्न देशले आफ्ना नागरिकलाई फिर्ता लग्न थालेका छन्। जापानले विमान चार्टर गरेर बुधबारदेखि नै आफ्ना नागरिकलाई फिर्ता लग्न सुरू गरेको छ।
चीनको वुहान शहरमा रहेका नेपाली नागरिकहरू पनि नेपाल फर्किन चाहेको बताइएको छ।