ए डिभिजन लिग : हिमालयन शेर्पा र चर्च ब्वाइज विजयी
बुधबार ललितपुरस्थित च्यासल मैदानमा हिमालयनले सातदोबाटोलाई १–० गोल अन्तरले हराएको हो।
काठमाडाैं, वैशाख २० : राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लबले सातदोबाटो युथ क्लबलाई पराजित गरेको छ।
बुधबार ललितपुरस्थित च्यासल मैदानमा हिमालयनले सातदोबाटोलाई १–० गोल अन्तरले हराएको हो।
हिमालयनको जितमा खामिर गिल्सनले खेलको ६५ औं मिनेटमा निर्णायक गोल गरे। जितसंगै हिमालयनले १४ खेलमा १७ अंक जोडेको छ। सातदोबाटोको १४ खेलमा २२ अंक रहेको छ।
त्यस्तै बुधबार नै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार चर्च ब्वाइजले फ्रेन्ड्स क्लबलाई २–१ गोल अन्तरले पराजित गर्यो। चर्च ब्वाइजको जितमा अन्जन विष्ट र आशिष चापागाईले एक एक गोल गरे।
फ्रेन्ड्सका बेन क्वान्साले एक गोल गरे। खेलको १४ औं मिनेट बेनले गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए। तर, खेलको ८७ औं मिनेटमा अन्जनले पेनाल्टीमार्फत गोल गर्दै चर्च ब्वाइजलाई १–१ गोलको बराबरीमा ल्याए।
त्यसपछि खेलको इन्जुरी समयमा आशिषले गोल गर्दै चर्च ब्वाइजलाई २–१ को जित दिलाए। जितसँगै चर्च ब्वाइजले १४ खेलमा २४ अंक जोडेको छ। फ्रेन्ड्सले १४ खेलमा १५ अंक जोडेको छ।











