कोभिडपछि पुरानो अवस्थामा फर्कनसकेन छापा पत्रकारिता
कोरोना भाइरसले छापा पत्रकारितालाई अस्तव्यस्त बनाएको बताउनुहुन्छ नेपाली छापा माध्यम राष्ट्रिय सञ्जालका अध्यक्ष देवप्रकाश त्रिपाठी। कोरोना महामारीका बेला पत्रिकाको छपाइ र वितरणमा असर गर्यो।
काठमाडाैं, वैशाख २० : कोभिड १९ को सङ्क्रमणपछि पत्रकारिताको छापामाध्यम पुरानो अवस्थामा फर्कन सकेको छैन।
कोरोना भाइरसले छापा पत्रकारितालाई अस्तव्यस्त बनाएको बताउनुहुन्छ नेपाली छापा माध्यम राष्ट्रिय सञ्जालका अध्यक्ष देवप्रकाश त्रिपाठी। कोरोना महामारीका बेला पत्रिकाको छपाइ र वितरणमा असर गर्यो। अनलाइन सञ्चार माध्यम विस्तार हुनु कोरोनाकै ‘बाइ प्रोडक्ट’ भएको उनको तर्क छ।
कोरोनाले छापा पत्रकारितामा पारेको असरका विषयमा उक्त सञ्जालले अध्ययन गरेको थियो। कोरोनाकै कारण सहजरूपमा पत्रिका छापिएर वितरण हुन नसकेकाले सामाजिक सञ्जालमा समाचारका सामग्री आउने क्रम पनि बढ्यो। कोरोनापछि केही अनलाइनले राज्यको नियमनमै रहेर पनि पत्रकारिता गरिरहेका छन्।
कोरोनाका बेला पत्रिका छापिएर वितरण हुन नसक्दा पत्रकार एवं कामदारले समयमा तलब पाउन सकेनन्। कोरोनापछि अर्थ व्यवस्था पनि बिग्रिएकाले पत्रिकाले विज्ञापन पाउन सकेनन्। राज्यले पनि तुलनात्मक रूपमा बढी जिम्मेवार भएर पत्रकारिता गरिरहेको छापामाध्यमलाई पुरानो अवस्थामा फर्काउन काम गरेको अनुभूति नभएको अध्यक्ष त्रिपाठी बताउँछन्।
पत्रकारिताले राजनीतिक क्षेत्रका प्रश्न पनि उठाउने भएकाले राज्यका तर्फबाट त्यस्तो प्रयास हुन नसकेको उनको भनाइ छ। 'पत्रकारिताको विश्वसनीयता घट्दा राजनीति गर्ने र भ्रष्टचार गर्नेलाई तुलनात्मक रूपमा सजिलो हुने भएकाले यस्तो भएको हो, पत्रकारिताको विश्वसनीयता रहिरह्यो भने सुशासन र राजनीतिक स्थिरता कायम हुन सक्छ,' पत्रकार त्रिपाठी भन्छन्।
कोरोनाले साना छापा माध्यमलाई त अझ बढी असर पारेको छ। लोकतान्त्रिक छापा माध्यम सञ्जालका अध्यक्ष दामोदरप्रसाद दवाडी थोरै लगानीका छापा माध्यमको अवस्था कोरोनापछि झनै खराब बन्न पुगेकाले कोरोनापछि तिनको पेज र सङ्ख्या दुवै घटेको बताउँछन्।
केही छापा कोरोनापछि अनलाइन संस्करणमा गए पनि केही भने बन्द र केही घिटीघिटीको अवस्थामा रहेका छन्। कोरोनापछि छापामाध्यममा ५५ प्रतिशतसम्मले गिरावट आएको उनकोे भनाइ छ। पहिले पत्रिकामै आउने समाचार कोरोनापछि अनलाइनमा आउन थालेका छन्।
कोरोनापछि पत्रिका र त्यसमा काम गर्ने पत्रकारको अवस्था दयनीय बन्न पुगेको प्रेस काउन्सिल नेपालका प्रवक्ता दीपक खनाल बताउँछन्। आर्थिक सङ्कटका कारण सञ्चार गृहले समयमै तलब दिन सकेनन्। तलब नपाएपछि पत्रकार पनि अन्यत्रै लाग्न थाले।
२०७६ चैत ११ गतेदेखि कोरोना महामारीकै कारण देशभर बन्दाबन्दी (लकडाउन) गरियो। पत्रकारितालालाई अत्यावश्यक पेशाका रुपमा सञ्चालन हुन दिने भनिए पनि व्यावहारिकरूपमा त्यति सहज थिएन। विसं२०७६ फागुन २२ गतेदेखि नै काउन्सिलले पत्रकारलाई संयमित भएर काममा लाग्न आह्वान गरेको थियो।
नेपाल पत्रकार महासङ्घसँगको सहमतिमा काउन्सिलले बन्दाबन्दीको अघिल्लो दिन अर्थात् २०७६ चैत १० गते कोरोनासम्बन्धी विशेष निर्देशिका जारी गरेको थियो।











-1784808429.png)