चार शहीदको पूर्णकदको शालिक निर्माण
काठमाडौं, माघ १५ : जहाँनिया राणा शासनविरुद्धको लडाइका क्रममा सहादत प्राप्त गरेका चार शहीद (गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त....

काठमाडौं, माघ १५ : जहाँनिया राणा शासनविरुद्धको लडाइका क्रममा सहादत प्राप्त गरेका चार शहीद (गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री) को सम्झनामा काठमाडौं महानगरपालिकाले पूर्णकदको शालिक निर्माण गरेको छ।
महानगरपालिकाले उनीहरु चारै जनालाई मृत्युदण्ड दिएको स्थानमा पूर्णकदको शालिक निर्माण गरेको हो। गत वर्ष काठमाडौँ महानगरपालिका–१२ टेकुमा शहीद शुक्रराज शास्त्रीको शालिक निर्माण गरिएको थियो। शास्त्रीलाई त्यहि रहेको खरीको बोटमा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो।
त्यसैगरी काठमाडौं–७ सिफलस्थित धर्मभक्त माथेमालाई झुण्ड्याएरै मृत्युदण्ड दिइएको स्थानमा माघ १३ गते उनको शालिक अनावरण गरिएको थियो।
बुधबार शहीदद्वय गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई गोली हानेर हत्या गरेको स्थान शोभा भगवतीमा शालिक अनावरण गरिएको छ। शहीद सप्ताहको तेस्रो दिन आज आयोजना गरिएको श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै महानगरका प्रमुख एवं शहीद सप्ताह मुल समारोह समितिका संयोजक विद्यासुन्दर शाक्यले शहीदलाई सबैले चिनुन र सम्झिरहुन भनेर महानगरपालिकाले शालिक निर्माण गरेको बताए।
कार्यक्रममा सांसद जीवनराम श्रेष्ठले शहीदहरुको सम्झनामा महानगरपालिकाले पूर्णकदको शालिक निर्माण गरेर उदाहरणीय काम गरेको बताए।











