Kathmandu Press

अक्सिजन प्लान्ट स्थापना गर्न गंगालाल हृदय केन्द्रसँग सम्झौता

काठमाडौं, माघ १५ : मुटुको समस्या भएर शहीद गंगालाल हृदय केन्द्रमा उपचार गर्न आउने बिरामीलाई निःशुल्क अक्सिजन उपलब्ध गराउन काठमाडौं महानगरपालिकाले प्लान....

अक्सिजन प्लान्ट स्थापना गर्न गंगालाल हृदय केन्द्रसँग सम्झौता

काठमाडौं, माघ १५ : मुटुको समस्या भएर शहीद गंगालाल हृदय केन्द्रमा उपचार गर्न आउने बिरामीलाई निःशुल्क अक्सिजन उपलब्ध गराउन काठमाडौं महानगरपालिकाले प्लान्ट स्थापना गरिदिने भएको छ। यसका लागि केन्द्र र महानगरबीच आज सहमति पत्रमा हस्ताक्षर भएको छ।

केन्द्रको २४औं स्थापना दिवस तथा शहीद सप्ताहको कार्यक्रम पारेर महानगरका प्रमुख विद्यासुन्दर शाक्य र केन्द्रका कार्यकारी निर्देशक डा.चन्द्रमणि अधिकारीले उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश सभा सदस्य दीपक निरौलाको उपस्थितिमा सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौताबमोजिम केन्द्रले प्लान्ट र यससम्बन्धी उपकरण खरिद खुल्ला प्रतिस्पर्धाबाट गर्नुपर्नेछ। यसरी गरिएको बोलपत्रबाट छनोट भएको प्रस्तावकले कबोल गरेको रकम बराबरको पैसा महानगरले केन्द्रको बैंक खातामा पठाइदिनेछ।

प्लान्टको निरन्तर सञ्चालनका लागि पूर्वाधार तयार पार्ने, जनशक्ति खटाउने, विद्युत प्रणाली जडान गर्ने, जनशक्ति खटाउने तथा मर्मतसम्भार गर्ने जिम्मेवारी केन्द्रको हुनेछ।

सहमति पत्रमा हस्ताक्षर गरिसकेपछि कार्यक्रममा धारणा राख्दै उपप्रधानमन्त्री पोखरेलले महानगरपालिकाले विशेषज्ञ सेवा प्रदायक स्वास्थ्य संस्थाको सहयोगमा नागरिकलाई सहज स्वास्थ्य सेवा पुर्‍याउन गरेको कामको सराहना गरे। ‘महानगरको दक्षताले सकेको आफैं र नसकेको ठाउँमा सक्नेको सहयोगमा काम गरेपछि यो दिगो हुन्छ, यसले निरन्तरता पाओस् भन्ने म चाहन्छु,’ उपप्रधानमन्त्री पोखरेलले भने।

महानगरका प्रमुख विद्यासुन्दर शाक्यले रोगको उपचारका लागि मात्र नभइ रोग लाग्नै नदिनका लागि पनि कार्यक्रम अघि बढाएको बताए। ‘हामी नागरिकको दैनिक समस्यासँग जोडिने हरेक ठाउँमा सहयोग गर्नसक्छौं। यसका लागि हामीले अघि सारेकाबाहेक अर्थात् हाम्रा कार्यक्रममा छुटेका क्षेत्र तपाईले देख्नुभएको छ भने हामीलाई थाहा दिनोस्,’ उनले भने ‘तपाईले देख्नु भएका क्षेत्र वा महानगरले यसो गरिदिए हुन्थ्यो भन्ने सोच कर्मचारी, वडा वडाध्यक्ष तथा जनप्रतिनिधि, उपप्रमुखमार्फत वा सोझै मसँगै भेटेर पनि दिन सक्नुहुनेछ।’

महानगरले केन्द्रमा अक्सिजन प्लान्ट स्थापना गर्न तीन करोड रुपैयाँ छुट््याएको छ। सोही अवसरमा हृदय केन्द्रले बीमित बिरामीको उपचारका लागि राष्ट्रिय बीमा बोर्ड सम्झौता गरेको छ।

सो अवसरमा बिरामी कुरुवा घरको व्यवस्थापनका लागि मृगेन्द्र चिकित्सा गुठीले १० लाख रुपैयाँ उपलब्ध गराएको छ।

प्रकाशित मिति: १३:०६ बजे, बुधबार, माघ १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्