नेपाल पहिलो एसिया कपमा, भारत–पाकिस्तानसँग खेल्ने
घरेलु मैदानमा एसिसी प्रिमियर कपको वर्षाले प्रभावित फाइनलमा युएईलाई ७ विकेटले हराउँदै नेपालले पहिलो पटक एसिया कपमा स्थान बनाएको हो।
काठमाडाैं, वैशाख १९ : नेपाल पहिलो पटक एसिया कप क्रिकेटमा छनोट भएको छ। घरेलु मैदानमा एसिसी प्रिमियर कपको वर्षाले प्रभावित फाइनलमा युएईलाई ७ विकेटले हराउँदै नेपालले पहिलो पटक एसिया कपमा स्थान बनाएको हो।
अब नेपालले एसिया कपमा विश्व क्रिकेटकै महाराथी देशहरु भारत र पाकिस्तानसँग खेल्ने भएको छ। एसिया कप पाकिस्तानमा हुने छ।
नेपालाई एसिया कपमा पुर्याउनेक्रममा युवा अलरान्डर गुल्सन र भीम सार्कीले उत्कृष्ट इनिङ खेले। तेस्रो नम्बरमा ब्यापिटङ गरेका गुल्सनले ८४ बलमा ३ चौका र ६ छक्का प्रहार गर्दै ६७ रन बनाए। एकदिवसीयमा उनको यो दोस्रो अर्धशतक हो। यस्तै, भीम सार्कीले ७२ बलमा ४ चौका प्रहार गर्दै ३६ रन बनाए।
२२ रन बनानउँदै ३ विकेट गुमाएपछि नेपाल दबाबम परेको थियो । तर, त्यसपछि गुल्सन र भीमले सम्हालिएको इनिङ गर्दै भारत पाकिस्तानसँग खेल्ने सपना साकार बनाए। यी दुईले चौथो विकेटका लागि ९२ रनको साझेदारी गर्दै नेपाललाई पहिलो पटक एसिया कपमा पु¥याए।
बलिङमा युएईका रोहन मुस्तफाले १० ओभरमा १३ रन खर्चेर २ विकेट लिए भने आयन खानले १ विकेट लिए।
त्यसअघि सोमबार भएको वर्षा प्रभावित खेलमा नेपाली बलर हावी भएपछि २७.३ ओभरमा १०६ रन बनाउँदा युएईले ९ विकेट गुमाएको थियो। त्यही अवस्थाबाट आज युएईले इनिङ सुरु गरेको थियो। मंगलबार युएईले थप ११ रन बनाएको थियो।
युएईको इनिङ ध्वस्त बनाउने क्रममा ललित राजवंशीले ७.१ ओभरमा २ मेडनसहित १४ रन मात्र खर्चेर ४ विकेट लिए। यस्तै, करण केसी र सन्दीप लामिछानेले पनि समान २ विकेट लिए। गुल्सन र सोमपाल कामीको नाममा पनि १ विकेट रह्यो।











