राष्ट्र संघकाे प्रतिबेदन भन्छ- विश्वभर ५० करोड मानिस बेराेजगार
विश्वमा बेरोजगार वा नियमित रोजगार नभएका ४७ करोडभन्दा धेरै मानिस भएको संयुक्त राष्ट्र संघले जनाएको छ। सम्मानजनक कामको अभावले सामाजिक अशान्ति बढ्ने संघले चेतावनी दिएको छ....
विश्वमा बेरोजगार वा नियमित रोजगार नभएका ४७ करोडभन्दा धेरै मानिस भएको संयुक्त राष्ट्र संघले जनाएको छ। सम्मानजनक कामको अभावले सामाजिक अशान्ति बढ्ने संघले चेतावनी दिएको छ।
संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) का अनुसार गत दशकमा विश्वव्यापी बेरोजगारीको दर तुलनात्मक रूपले स्थिर रह्यो। पोहोर साल ५.४ प्रतिशत रहेको बेरोजगारी दरमा खासै परिवर्तन नहुने अपेक्षा छ। तर बढ्दो जनसंख्याका लागि सुस्ताउँदो अर्थतन्त्रले रोजगारका अवसर घटाउने भएकाले बेरोजगारको संख्या समग्रमा बढ्नेछ।
आइएलओको वार्षिक “वर्ल्ड इम्प्लवाइमेन्ट एन्ड सोसल आउटलुक” प्रतिवेदनमा यो वर्ष बेरोजगारको संख्या १९ करोड पुग्ने अनुमान गरिएको छ। सन् २०१९ मा बेरोजगारको संख्या १८ करोड ८० लाख थियो। उनीहरूबाहेक, विश्वभरि २८ करोड ५० लाख मानिसले चाहे जति समय काम गर्न नपाएको, काम खोज्न छाडेको वा श्रम बजारमा पहुँचको अभावमा रहेको आइएलओले जनाएको छ। यसरी झण्डै ५० करोड मानिस बेरोजगार वा पूर्णकालीन रोजगार नभएको र उनीहरूले विश्व श्रम शक्तिको १३ प्रतिशत प्रतिनिधित्व गर्ने आइएलओले औंल्याएको छ।
“लाखौं रोजगार मानिसका लागि काम गरेर राम्रो जीवन बनाउन कठिनाइ हुँदै गएको छ,” आइएलओका प्रमुख गाइ राइडरले जेनेभा भने। कामसम्बन्धी उल्लेखनीय असमानता र बहिष्करणको निरन्तरताले धेरैलाई सम्मानजनक काम खोज्न रोकिरहेको र यसले राम्रो भविष्य बनाउन पनि रोकेको उनले चेतावनी दिए।
“मेरो विचारमा यो चिन्ताजनक खोज हो,” उनले भने। सम्मानजनक कामको पहुँचमा अभाव भएकोले विश्वभर विरोध आन्दोलन र अशान्ति चर्किएको उनले बताए।
“धेरै समाजमा श्रम बजारको अवस्थाले सामाजिक मेलमिलाप नाश गर्दैछ,” लेबनन र चिलेजस्ता भएका जनप्रदर्शनलाई उद्धृत गर्दै राइडरले भने।
आइएलओको “सोसल अनरेस्ट इन्डेक्स” अनुसार प्रदर्शन र हड्तालको आवृत्ति मापन गर्दा सन् २००९ देखि २०१९ सम्म विश्वभर र ११ मध्ये सातोटा उपक्षेत्रमा दुवै बढेको छ। आइएलओको प्रतिवेदनले विश्वको ६० प्रतिशत श्रमशक्ति अनौपचारिक अर्थतन्त्रमा कार्यरत रहेको देखाएको छ। उनीहरू मापदण्डभन्दा थोरै पारिश्रमिक र आधारभूत सामाजिक सुरक्षाको अभावमा काम गरिरहेका छन्।
सन् २०१९ मा ६३ करोडभन्दा धेरै मानिस कथित गरिबीमा बाँचिरहेका थिए। यो भनेको विश्वको काम गर्ने जनसंख्याको पाँचमध्ये एक भाग हो। अर्थात् क्रयशक्तिको आधारमा उनीहरूले दैनिक ३।२ अमेरिकी डलर कमाउँथे।
आइएलओको प्रतिवेदनले लिङ्ग, उमेर र भौगोलिक अवस्थितीका कारण आम्दानी र रोजगारको पहुँचमा उल्लेखनीय असमानता भएको चेतावनी दिएको छ। विशेष गरि १५ देखि २४ वर्षका २६ करोड ७० लाख युवा रोजगार, शिक्षा वा तालिममा नभएको प्रतिवेदनमा उल्लेख छ। यहि समूहका धेरै दयनीय अवस्थामा काम गर्न बाध्य छन्।
सन् २००४ देखि २०१७ सम्म पारिश्रमिक र अन्य श्रम लागत भुक्तान गर्न राष्ट्रिय आयको औसत ५४ प्रतिशतबाट घटेर ५१ प्रतिशत पुगेको पनि अध्ययनले देखाएको छ। पारिश्रमिक पाउने जनसंख्याभित्र पनि सबैभन्दा धेरै कमाउने र सबैभन्दा थोरै कमाउनेबीच चरम असमानाता भएको राइडरले बताए।
उक्त सूचीको तल्लो स्थानमा सबैभन्दा थोरै पारिश्रमिक पाउने २० प्रतिशतले शीर्ष २० प्रतिशत जत्तिकै कमाउन ११ वर्ष लाग्ने आइएलओको प्रतिवेदनमा उल्लेख छ। “परिस्थिती पहिले सोंचेभन्दा गम्भीर छ,”राइडरले भने।