Kathmandu Press

कोलकतालाई हराउँदै गुजरात शीर्ष स्थानमा, हैदरावादसँग हार्‍यो दिल्ली

इडेन गार्डेन्समा कोलकाताले दिएको १८० रनको लक्ष्य गुजराजतले १७.५ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो ।
कोलकतालाई हराउँदै गुजरात शीर्ष स्थानमा, हैदरावादसँग हार्‍यो दिल्ली

काठमाडाैं, वैशाख १७ : डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्स आईपिएलको शीर्ष स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा कोलकाता नाइट राइडर्समाथि ७  विकेटको जित निकाल्यो।

इडेन गार्डेन्समा कोलकाताले दिएको १८० रनको लक्ष्य गुजराजतले १७.५ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो । उसका लागि विजय शंकरले विस्फोटक ब्याटिङ गरे। उनले २४ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै ५१ रन बनाए।

यस्तै, सुबमन गिलले ४९, डेविड मिलरले ३२ र हार्दिक पाण्ड्याले २६ रनको योगदान दिए। कोलकाताका हर्तिस राना, आन्द्रे रसेल र सुनिल नारिनले समान १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको कोलकाताले रमनुल्लाह गुर्बाजको अर्धशतक मद्दतमा ७ विकेटको क्षतिमा १७९ रन बनायो। गुर्बाजले ३९ बलमा ५ चौका र ७ छक्का प्रहार गर्दै ८१ रन बनाए। यस्तै, रसेलले ३४ र रिंकु सिंह र नारायण जगदिशनले समान १९ रनको योगदान दिए। गुराजतका मोहम्मद सामीले ३ तथा जोश लिटल र नूर अहमदले समान २ विकेट लिए।

यस्तै, अर्को खेलमा सनराइजर्स हैदरावादले दिल्ली क्यापिटल्सलाई ९ रनले हरायो। १९८ रनको लक्ष्य पछ्याएको दिल्लीले ६ विकेटको क्षतिमा १८८ रन मात्र बनाउन सक्यो।

उसका लागि मिचेल मार्स र फिल साल्टले अर्धशतक बनाए पनि त्यो जितका लागि पर्याप्त भएन। मार्सले ३९ बलमा १ चौका ६ छक्का प्रहार गर्दै ६३ रन बनाउँदा साल्टले ३५ बलमा ९ चौकाको मद्दतमा ५९ रन बनाए। यी दुईले दोस्रो विकेटका लागि ११२ रनको साझेदारी गरेका थिए।

सनराइजर्सका मायंक मार्कन्डेयल २ तथा भुवनेश्वर कुमार, अकिल हुसेन, टि नटराजन र अविशेक शर्माले समान १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको हैदरावादले ६ विकेटको क्षतिमा १९७ रन बनायो । उसका लागि अविशेक शर्माले ३६ बलमा १२ चौका र १ छक्का प्रहार गर्दै ६७ रन बनाउँदा हेइनरिच क्लासनले २७ बलमा २ चौका र ४ छक्का प्रहार गर्दै ५३ रन बनाए। दिल्लीका मिचेल मार्सले ४ विकेट लिए।

जितसँगै गुजरात ८ खेलमा १२ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। कोलकाता ६ अंकसहित सातौं स्थानमा छ। यता, ६ अंक नै जोडेको हैदरावाद आठौं स्थानमा छ भने दिल्ली ४ अंकसहित पुछारमा छ।

प्रकाशित मिति: ०७:५१ बजे, आइतबार, वैशाख १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्