छक्का हान्दै कुशल मल्ले बनाए अर्धशतक, नेपाल बलियो अवस्थामा
वर्षाका कारण ४२ ओभरमा झारिएको खेलमा कुशलले ४२ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै प्रतियोगितामा तेस्रो अर्धशतक प्रहार गरे।
काठमाडाैं, वैशाख १६ : युवा अलराउन्डर कुशल मल्लले एसिसी प्रिमियर लिगको सेमिफाइनलमा कुवेतविरुद्ध अर्धशतक प्रहार गरेका छन्। उनले २८औं ओभरको अन्तिम बलमा अदन इद्रिसलाई छक्का प्रहार गर्दै अर्धशतक बनाए ।
वर्षाका कारण ४२ ओभरमा झारिएको खेलमा कुशलले ४२ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै प्रतियोगितामा तेस्रो अर्धशतक प्रहार गरे। यसअघि उनले मलेसिया र ओमानविरुद्ध पनि अर्धशतक बनाएका थिए।
२९औं ओभरको तेस्रो बलमा आउट हुनुअघि उनले ४४ बलमा ५७ रन बनाए।
त्यसअघि कप्तान रोहितकुमार पौडेलले पनि अर्धशतक बनाएका थिए। रोहितले उनले ५६ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै अर्धशतक बनाएका हुन्।
कुशल र रोहितको अर्धशतकमा नेपाल बलियो अवस्थामा पुगेको छ। यी दुईले चौथो विकेटका लागि १०९ रनको साझेदारी गरेका थिए।
ताज अवस्थामा नेपालले ३१ ओभरमा ४ विकेटको क्षतिमा १९८ रन बनाएको छ। रोहित ६० रन बनाएर खेलिरहेका छन् भने आरिफ शुन्य रनमा छन्।
त्यसअघि नेपाललाई ओपनरद्वय कुशल भुर्तेल र आसिफ सेखले राम्रो सुरुआत दिए। उनीहरुले पहिलो विकेटका लागि ७७ रनको साझेदारी गरेका थिए। त्यसपछि १३ रन बनाउँदा ३ विकेट गुमाएपछि नेपाल दबाबमा परेको थियो।
कुशलले ३९ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ४३ रन बनाउँदा आसिफले २८ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ३१ रन बनाए। भीम सार्की ४ बलमा १ रन बनाएर आउट भए।
कुवेतका अदन इद्रिसले २ तथा मोहम्मदल अस्लमले १ विकट लिए।











