Kathmandu Press

बल र ब्याट दुवैमा सन्दीप चल्दा कतारमाथि नेपालको जित, समूह विजेता बन्दै सेमिफाइनलमा

ब्याटबाट ४२ रन बनाएका सन्दीपले बलिङमा ५ विकेट लिएपछि नेपालले कतारलाई ६८ रनले हरायो।
बल र ब्याट दुवैमा सन्दीप चल्दा कतारमाथि नेपालको जित, समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाडाैं, वैशाख १४ : सन्दीप लामिछाने बल र ब्याट दुवैमा उत्कृष्ट प्रर्शन गरेपछि एसिसी प्रियिमर कपमा नेपाल विजयी भएको छ। ब्याटबाट ४२ रन बनाएका सन्दीपले बलिङमा ५ विकेट लिएपछि नेपालले कतारलाई ६८ रनले हरायो।

यो जितसँगै नेपाल समूह एबाट विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको छ । समूहमा नेपालले मलेसिया, ओमान र कतारलाई हराउँदै साउदीसँगको वर्षाका कारण हुन सकेन । अपराजित नेपालले ४ खेलमा ७ अंक जोड्यो। ६ अंक जोडेको ओमान उपविजेताका रुपमा सेमिफाइनल पुग्यो।

कीर्तिपुरस्थि टियू मैदानमा पहिला ब्याटिङ गर्दै नेपालले दिएको १५८ रनको सामान्य लक्ष्य पछ्याएको कतार २५.१ ओभरमा ८९ रनमै अलआउट भयो।

कतारका लागि तीन ब्याट्सम्यानले मात्र दोहोरो अंकमा स्कारे बनाउन सके। उसका खुराम सहजाद र जाहिर इब्रहिमले समान १५ रन बनाउँदा अमिर फारुकले १४ रन बनाए।

कतारलाई सस्तैमा समेट्ने क्रममा सन्दीप र सोमपाल कामीले घातक बलिङ गरे। सन्दीपले ९.१ ओभरमा ३ मेडनसहित १४ रन खर्चेर ५ विकेट लिए। यस्तै, सोमपालले ७ ओाभरमा १ मेडनसहित २४ रन खर्चेर ३ विकेट लिए। ललित राजवंशीको नाममा पनि २ विकेट रह्यो।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले खराब ब्याटिङ गर्दै ४०.३ ओभरमा अलआउट हुँदै १५७ रन मात्र बनाउन सक्यो।

२८ ओभरमा १११ रन बनाउँदा ९ विकेट गुमाएको नेपालको इनिङ सम्हाल्ने क्रममा सन्दीप लामिछानेले उत्कृष्ट ब्याटिङ गरे। करिअरकै सर्वाधिक रन बनाएका सन्दीप ५८ बलमा ६ चौका प्रहार गर्दै ४२ रनमा नआउट रहे।

उनले १०औं विकेटका लागि ललित राजवंशीसँग ४६ रनको महत्वपूर्ण साझेदारी गरे। यो साझेदारीले नेपालले १५० रन कटाउन सफल भयो । अन्तिम विकेटका रुपमा आउट भएका ललितले १७ बलमा १ रन बनाए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहितकुमार पौडेलले २७, आसिफ सेखले १९, दीपेन्द्रसिंह ऐरीले १२ र सोमपाल कामी र आरिफ सेखले समान ११ रन बनाए।

नेपालको इनिङ धरासायी बनाउने क्रममा कतारका अमिर फारुकले ४ तथा ओइस अहमेदले ३ विकेट लिए। यस्तै, गायन मुनाविराले २ विकेट लिए।

प्रकाशित मिति: १५:०९ बजे, बिहीबार, वैशाख १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्