सन्दीपको उत्कृष्ट ब्याटिङ, कतारलाई १५८ रनको लक्ष्य
२८ ओभरमा १११ रन बनाउँदा ९ विकेट गुमाएको नेपालको इनिङ सम्हाल्ने क्रममा सन्दीप लामिछानेले उत्कृष्ट ब्याटिङ गरे। करिअरकै सर्वाधिक रन बनाएका सन्दीप ५८ बलमा ६ चौका प्रहार गर्दै ४२ रनमा नआउट रहे।
काठमाडाैं, वैशाख १४ : एसिसी प्रिमियर कपको समूह चरणको अन्तिम खेलमा नेपालले कतारलाई १५८ रनको सामान्य लक्ष्य दिएको छ। नेपालको माथिल्लो र मध्यक्रम धरासायी भएपछि कीर्तिपुरस्थित टियू मैदानमा नेपालले ४३.३ ओभरमा अलआउट हुँदै १५७ रन मात्र बनाउन सक्यो।
२८ ओभरमा १११ रन बनाउँदा ९ विकेट गुमाएको नेपालको इनिङ सम्हाल्ने क्रममा सन्दीप लामिछानेले उत्कृष्ट ब्याटिङ गरे। करिअरकै सर्वाधिक रन बनाएका सन्दीप ५८ बलमा ६ चौका प्रहार गर्दै ४२ रनमा नआउट रहे।
उनले १०औं विकेटका लागि ललित राजवंशीसँग ४६ रनको महत्वपूर्ण साझेदारी गरे। यो साझेदारीले नेपालले १५० रन कटाउन सफल भयो । अन्तिम विकेटका रुपमा आउट भएका ललितले १७ बलमा १ रन बनाए।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहितकुमार पौडेलले २७, आसिफ सेखले १९, दीपेन्द्रसिंह ऐरीले १२ र सोमपाल कामी र आरिफ सेखले समान ११ रन बनाए।
नेपालको इनिङ धरासायी बनाउने क्रममा कतारका अमिर फारुकले ४ तथा ओइस अहमेदले ३ विकेट लिए। यस्तै, गायन मुनाविराले २ विकेट लिए।
नेपाल यो खेल अघि नै प्रतियोगिताको सेमिफाइनल पुगिसकेको छ।