ओमान र युएई एसिसी प्रियिमर कपको सेमिफाइनलमा
बुधबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा ओमानले साउदी अरेबियालाई ७७ रनले हराउँदा मुलपानी क्रिकेट मैदानमा युएईले बहराइनलाई ८ विकेटले हरायो।
काठमाडाैं, वैशाख १३ : ओमान र युएई नेपालमा जारी एसिसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेका छन्। बुधबार भएको लिगका अन्तिम खेलमा जित निकाल्दै ओमान र युएईले सेमफिाइनलमा स्थान पक्का गरे।
बुधबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा ओमानले साउदी अरेबियालाई ७७ रनले हराउँदा मुलपानी क्रिकेट मैदानमा युएईले बहराइनलाई ८ विकेटले हरायो। समूहमा रहेको ओमान र समूह बीमा रहेको युईसले लिगमा ३ जित र १ हार व्यहोर्दै समान ६ अंक जोडेका छन्।
टियू मैदानमा ओमानले दिएको ३६७ रनको लक्ष्य पछ्याएको साउदी ४६.५ ओभरमा अलआउट हुँदै २९४ रन मात्र बनाउन सक्यो। उसका लागि अब्दुल वाहिदले ९५ रन बनाउँदा साद खानले ७८ रनको योगदान दिए। ओमानका विलाल खानले ४ लिँदा जय ओडेर्डाले ३ विकेट लिए।
सुरुआती ५ ब्याट्सम्यानले अर्धशतक प्रहार गरेपछि पहिला ब्याटिङ गरेको ओमानले ६ विकेटको क्षतिमा ३६६ रन बनायो। उसका जतिन्दर सिंहले सर्वाधिक ८८ रन बनाउँदा मोहम्मद नदिमले ७१, सोइब खानले ६८, कप्तान जिसन मक्सुद ५४ र काश्यप प्रजापतिले ५१ रन बनाए। साउदीका अतिफ उल रहमानले ३ विकेट लिए।
मुलपानीमा आजै भएको खेलमा बहराइनले दिएको ११७ रनको सामान्य लक्ष्य युएईले २७.४ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो । युएईका लागि वृत्य अरविन्दले ६२ र रोहन मुस्तफाले ५० रनको योगदान दिए। बहराइनका अब्दुल माजिदले २ विकेट लिए।
यसअघि पहिला ब्याटिङ गरेको साउदीका लागि कप्तान हैदर बट र अली दाउदले सर्वाधिक २३ रन बनाउँदा ओनपर मुहम्मद युनिसले १६ रनको योगदान दिए। साउदीलाई सस्तैमा समेट्ने क्रममा आयन खानले ४ तथा रोहन मुस्तफा र कार्तिक्य मयप्पनले समान २ विकेट लिए।











