यू–१६ राष्ट्रिय क्रिकेट स् मधेस र गण्डकी विजयी

धनगढी, वैशाख १२ : धनगढीमा जारी ‘एनआइएमबी सुदूरपश्चिम मुख्यमन्त्री यू–१६ राष्ट्रिय क्रिकेटमा मधेस र गण्डकी प्रदेश विजयी भएका छन् ।
स्थानीय फाप्ला मैदानमा मंगलबार भएको खेलमा मधेसले कर्णालीलाई ४९ रनले हरायो भने गण्डकीले कोशी प्रदेशलाई १२ रनले हरायो। प्रतियोगितामा मधेसले लगातार दोस्रो जित हात पारेको हो भने गण्डकीको जित भने पहिलो हो।
पहिले ब्याटिङ गरेको मधेसले सबै विकेट क्षतिमा एक सय २५ रन बनायो । उसका लागि राहन शाहले ३९ रन र चन्दन रायले २७ रन बनाए । कर्णालीका लागि विपिन शर्माले तीन विकेट तथा लक्की बम र दीप पौडेलले समान २ विकेट लिए।
जावाफी ब्याटिङ गरेको कर्णाली प्रदेशले निर्धारित ओभरमा नौ विकेट क्षतिमा ७६ रन मात्रै बनाउन सक्यो। उसका लागि दिपेश रावतले १५ र रोशन शाहीले १३ रन बनाए। मधेसका लागि पप्पु यादवले तीन विकेट र रोहन शाहले दुई विकेट लिए।
अर्को खेलमा गण्डकीले पहिले पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा सबै विकेट गुमाउँदै एक सय ६२ रन बनायो। गण्डकीका लागि रोहित कुँवरले ५१ रनको अर्धशतकीय पारी खेले । रोहित चन्दले ३७ रन बनाए । कोशीका लागि प्रतिक पोखरेल सौजन घिमिरेले तीन तथा प्रेम कामतले दुई विकेट लिए।
प्रतिउत्तरमा कोशीले निर्धारित ओभरमा आठ विकेट क्षतिमा एक सय ५० रन मात्रै बनाउन सक्यो। उसका लागि दिपु भुजेल र शिवांश बजगाईँले समान ३५र३५ रन बनाए भने सौजन घिमिरेले २३ रन जोडे। गण्डकीका लागि सिब्रिन श्रेष्ठले चार तथा अश्विन थापाले दुई विकेट लिए।
प्रतियोगिताअन्तर्गत भोलि सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका बीच तथा अर्को खेल कोशी प्रदेश र बागमती प्रदेशकाबीच हुँदैछ ।











