Kathmandu Press

सिंगापुरमाथि युएईको सानदार जित 

४७२ रनको लक्ष्य पछ्याएको सिंगापुरले २७० रन मात्र बनाउन सकेपछि युएईले विशाल जित निकाल्यो।
सिंगापुरमाथि युएईको सानदार जित 

काठमाडाैं, वैशाख १० : कीर्तिपुरस्थित टियू मैदानमा विस्फोटक ब्याटिङ गरेको युएईले सिंगापुरमाथि २०१ रनको फराकिलो जित निकालेको छ। ४७२ रनको लक्ष्य पछ्याएको सिंगापुरले २७० रन मात्र बनाउन सकेपछि युएईले विशाल जित निकाल्यो।

सिंगापुरका लागि मनप्रीत सिंहले ६४ बलमा ६६ रन बनाए भने थिलिपन ओमाइदुराईले ५६ बलमा ५२ रनको योगदान दिए।

यस्तै, कप्तान अरित्र दत्त र सुरेन्द्रन चन्द्रमोहनले समान ३८ रन बनाए। बलिङमा युएईका आयन खान, कार्तिक्य मयप्पन र सञ्चित शर्माले समान २ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको यएईले वृत्य अरविन्द र मुहम्मद वासिमको शतक मद्दतमा अन्तिम बलमा अलआउट हुँदै ४७१ रन बनायो। 

यो कीर्तिपुर मैदानमा ५० ओभरमा बनेको अहिलेसम्मकै उच्च स्कोर हो। यसअघि यही प्रतियोगितामा कुवेतसँगको खेलमा यूएईले ३७१ रन बनाएको थियो। यस्तै, लिस्ट एको पाँचौं सर्वाधिक ठूलो स्कोर हो। 

यूएईका लागि कप्तान मोहमद वासिम र वृत्य अरबिन्दले शतकीय पारी खेले। २२ रनमा पहिलो विकेट गुमाएको यूएईका उनीहरुले दोश्रो विकेटका लागि २४६ रनको साझेदारी गरेको थिए।

१७४ रन बनाएका अरबिन्दले १३३ बलमा १७ चौका र ७ छक्का हाने। वासिमले विस्फोटक ब्याटिङ गर्दै ८२ बलमा १६० रन बनाए। उनले ९ चौका र १६ छक्का हाने। आयान अफजल खानले ५० बलमा ७४ रन बनाए।

बलिङमा सिंगापुरका अद्वित्य भार्गवले ४, रमेश कालिमुथुले ३ र विनोद भास्करनले २ विकेट लिए।

प्रकाशित मिति: १६:५५ बजे, आइतबार, वैशाख १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्