पुछारको साउथह्याम्पटनसँग रोकियो आर्सनल, उपाधि यात्रामा धक्का
प्रिमियर लिगअन्तर्गत शुक्रबार राति भएको खेलमा आर्सनल पुछारमा साउथह्याम्पटनसँट ३–३ को बराबरीमा रोकिएको हो।
काठमाडाैं, वैशाख ९ : लिग लिडर आर्सनले बराबरीमा रोकिएको छ। प्रिमियर लिगअन्तर्गत शुक्रबार राति भएको खेलमा आर्सनल पुछारमा साउथह्याम्पटनसँट ३–३ को बराबरीमा रोकिएको हो।
यो बराबरीसँगै उपाधि यात्रामा आर्सनललाई धक्का लागेको छ। यसै सता आर्सनलले दोस्रो स्थानको म्यान्चेस्टर सिटीसँग खेल्नु पर्ने भएकाले उसलाई यो बराबरीले थप दबाब परेको छ। शीर्ष स्थानमै रहन आर्सनलले सिटीलाई हराउनै पर्ने हुन्छ।
२ खेल कम खेलेको सिटीमा माथि आर्सनलले ५ अंकको अग्रता लिएको छ। ३२ खेलमा आर्सनलको ७५ अंक छ भने सिटीको ३० खेलमा ७० अंक छ।
घरेलु मैदान एमिरेट्स स्टेडियममा आर्सनलले अन्तिम दुई मिनेटमा दुई गोल गर्दै साउथह्याम्पटनसँग ३–३ गोलको बराबरी खेल्यो । घरेलु मैदानमा आर्सनलले दुई पटक पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्द मुस्किलले हार टार्यो ।
कार्लोस अल्कारेसले पहिलो मिनेटमै गोल गर्दै साउथह्याम्पटनलाई अग्रता दिलाएका थिए । १४औं मिनेटमा आर्सनलका पूर्वखेलाडी थिओ वाल्कोटले अल्कारेजकै पासमा गोल गर्दै साउथह्याम्पटनको अग्रता दोब्बर पारे ।
२०औं मिनेटमा आर्सनलका गाब्रिएल मार्टिनेलीले गोल गर्दै आर्सनललाई खेलमा फर्काउने प्रयास गरे। तर, ६६औं मिनेटमा कालेटा कारले गोल गरेपछि साउथह्यानम्पटनले ३–१ को अग्रता बनायो ।
तर आर्सनलले अन्तिम समयमा दुई गोल फर्कायो । कप्तान मार्टिन ओडेगार्डले ८८औं मिनेटमा गोल गर्दै खेल ३–२ को स्थितिमा ल्याए । त्यसपछि बुकायो साकाले इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गरेपछि खेल ३–३ को बराबरीमा सकियो।











