राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगिता वैशाख २८ देखि
आयोजक सन्जय मेमोरियल फाउन्डेसनले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वैशाख २८ देखि ३० गतेसम्म आयोजना हुने जनाएको छ।
काठमाडाैं, वैशाख ८ : राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगिता वैशाख २८ गतेदेखि आयोजना हुने भएको छ।
आयोजक सन्जय मेमोरियल फाउन्डेसनले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वैशाख २८ देखि ३० गतेसम्म आयोजना हुने जनाएको छ।
प्रतियोगिता पाल्पाको रानीमहलमा आयोजना हुनेछ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहयोग र नेपाल भलिबल संघको स्वीकृतिमा आयोजना हुने प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र आयोजक गरी ११ टिमको सहभागिता रहनेछ। लिगकम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागी टिमलाई विभिन्न समूहमा विभाजन गरेर खेलाइने छ।
प्रतियोगिताको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख, तेस्रोले ५० हजार र सान्त्वना पुरस्कार विजेताले २५ हजार पाउने छन्। फाउन्डेसनले गत वर्ष महिला विधालाई समावेश गरेर प्रतियोगिता आयोजना गरेको थियो।
नेपालको बिच भलिबलको विकास र पाल्पाको ऐतिहासिक दरबार क्षेत्र रानीमहलको प्रबर्द्धन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ।
प्रतियोगिता आयोजनाका लागि नेपाल सरकारबाट १५ लाख बजेट विनियोजन भएको आयोजकले जनाएको छ।











