Kathmandu Press

पूँजीवादले राम्रोभन्दा बढी हानी गरेको देखियो :अध्ययन

विश्वका बहुसंख्यक मानिसहरू पूँजीवादको वर्तमान स्वरूपले फाइदाभन्दा धेरै हानी गरिरहेको विश्वास गर्छन्। डेभोस बैठकअघि सार्वजनिक गरिएको एउटा सर्वेक्षणले यस्तै निष्कर्ष निक....

पूँजीवादले राम्रोभन्दा बढी हानी गरेको देखियो :अध्ययन

विश्वका बहुसंख्यक मानिसहरू पूँजीवादको वर्तमान स्वरूपले फाइदाभन्दा धेरै हानी गरिरहेको विश्वास गर्छन्। डेभोस बैठकअघि सार्वजनिक गरिएको एउटा सर्वेक्षणले यस्तै निष्कर्ष निकालेको छ।

दुई दशकदेखि प्रमुख संस्थाको विश्वसनीयताबारे दशौं हजार मानिसको सर्वेक्षण गरेको इडेल्म्यान ट्रस्ट ब्यारोमिटरले पहिलो पटक पूँजीवादबारे सर्वेक्षण गरेको हो। अघिल्ला सर्वेक्षणमा असमानता बढ्दै गएको देखिएपछि पश्चिमा देशमा पूँजीवादमा आधारित लोकतन्त्रमाथि नागरिकलाई शङ्का भए नभएको सोध्न बाध्य भएको सर्वेक्षणकर्ताले जनाएका छन्।

अमेरिकी सञ्चार कम्पनी इडेल्म्यानले गरेको अध्ययनका प्रमुख अनुसन्धाता डेभिड बेरसोफले भने,“मानिसहरू आज हामीसँग भएको र हामी बाँचेको संसारले राम्रो भविष्य दिनसक्छ त भनेर सोधिरहेका छन्।”

Hardik ivf

सर्वेक्षणमा २८ देशका ३४ हजारभन्दा धेरै मानिस सहभागी भएका थिए। अमेरिका र फ्रान्सजस्ता पश्चिमका उदार लोकतन्त्रदेखि चीन र रूसलगायतका देशमा यो सर्वेक्षण गरिएको थियो। सर्वेक्षणका ५६ प्रतिशत सहभागीले आजको पूँजीवादले संसारलाई फाइदाभन्दा धेरै हानी पुर्‍याएको बताए।

राजनीतिक वैज्ञानिक फ्रान्सिस फुकुयामाका सिद्धान्त अन्वेषण गर्न सन् २००० मा उक्त सर्वेक्षण सुरू गरिएको हो। कम्युनिष्ट व्यवस्थाको पतनपछि उदार पूँजीवादी लोकतन्त्रले प्रतिद्वन्द्वी विचारधारालाई विदाइ गरेको घोषणा गर्दै फुकुयामाले इतिहासको अन्त्य भएको बताएका थिए।

फुकुयामाको यो निष्कर्षलाई आलोचकहरूले चुनौती दिँदै आएका छन्। उनीहरू चीनको बढ्दो प्रभावदेखि निरंकुश नेताको विस्तार, व्यापार सुरक्षा र सन् २००७/०८ को विश्व आर्थिक संकटपछि बढ्दो असमानतालाई औंल्याउँछन्।

राष्ट्रिय स्तरमा क्रमश: ७५ र ७४ प्रतिशतसहित थाइल्यान्ड र भारतमा पूँजीवादमाथि बढी विश्वास भएको पाइयो। फ्रान्समा ६९ प्रतिशतले पूँजीवादमा विश्वास गर्छन्। अन्य एसियाली, युरोपेली, खाडी, अफ्रिकी र ल्याटिन अमेरिकी राज्यमा पनि बहुमतले पूँजीवादलाई विश्वास गरेको पाइयो। अष्ट्रेलिया, क्यानडा, अमेरिका, दक्षिण कोरिया, हङकङ र जापानमा मात्रै बहुमतले पूँजीवादले बढी हानी पुर्यााएको विश्वास गर्छन्। 

प्राविधिक प्रगतिको गति र रोजगार असुरक्षादेखि सञ्चार माध्यमप्रति अविश्वास र वर्तमान चुनौती सामना गर्न सरकार तयार नभएको लगायतका विभिन्न चिन्ता रहेको सर्वेक्षणले देखाएको छ।

सर्वेक्षणमा अन्य देशभन्दा एसियालीहरू आर्थिक सम्भावनालाई लिएर बढी सकारात्मक रहेको देखियो। कलेजस्तरको अध्ययन गरेका र सम्पन्नहरू वर्तमान शासनबारे बढी विश्वस्त रहेको पनि पाइयो। यसले विचारको भिन्नता प्रष्ट देखाएको छ।

साथै, सरकारभन्दा व्यवसायलाई मानिसले बढी विश्वास गर्ने गरेको पनि पाइएको छ। ९२ प्रतिशत कर्मचारीले कम्पनीका प्रमुख कार्यकारी अधिकृतले आजको सामाजिक र नैतिक मुद्दाबारे बोल्नुपर्ने बताएका छन्।

“पुपिलस्ट र पार्टिसन सरकारले ल्याएको शून्यमा व्यवसाय जमेको छ,” इडेलम्यानका प्रमुख कार्यकारी अधिकृत रिचर्ड इडेल्म्यानले भने,“अब सधैंझैं व्यवसाय मात्रै हुँदैन जसको विशेष ध्यान शेयरधनीको लाभमा केन्द्रित हुन्थ्यो।”

रोयटर्स


 

प्रकाशित मिति: ०६:३८ बजे, सोमबार, माघ १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्