मिर्चैया बजार तनावग्रस्त
स्थिति नियन्त्रणमा लिन प्रहरीले २७ राउन्ड हवाईफायर, ११ सेल अश्रुग्यास प्रहार गरेको छ।काठमाडौं, वैशाख ७ : स्थानीयवासी र प्रहरीबीच झडप हुँदा सिरहाको मिर्चैया बजार तनावग्रस्त बनेको छ। स्थानीयवासी विभिन्न माग राखेर जुलुससहित नगरपालिका घेराउ गर्न पुगेपछि तनावग्रस्त भएको हो।
स्थानीयले आफ्ना मागबारे मेयर श्रवणकुमार यादवले संवोधन गर्नुपर्ने माग गरेका थिए। उनीहरु नगरपालिकाभित्र प्रवेश गर्न खोजेपछि प्रहरीले रोकेको थियो। त्यसपछि स्थानीयले नगरपालिका कार्यालयमा ढुंगामुढा गर्न थालेको प्रत्यक्षदर्शीले बताएका छन्। त्यसपछि तनावको स्थिति आएको हो।
स्थिति नियन्त्रणमा लिन प्रहरीले २७ राउन्ड हवाईफायर, ११ सेल अश्रुग्यास प्रहार गरेको छ। झडपका क्रममा पाँच प्रहरी घाइते भएका छन् भने प्रदर्शनकारीको ढुंगा प्रहारबाट मेयर श्रवण यादव चढ्ने गाडीको सीसा फुटेको छ। झडपमा स्थानियवासिन्दा पनि घाइते भएका छन्।
जुलसमा सहभागि स्थानियले भने प्रहरीले घर घरमा गएर कुटपिट गरेको आरोप लगाएका छन्। घरभित्र प्रवेश गरी कुटपिट गर्दा घाइते बनेकी संगीताकुमारी साहको फूलकुमारी मेमोरियल अस्पतालमा उपचार भइरहेको जनाइएको छ। प्रदर्शनका क्रममा प्रहरीको कुटाइबाट दिनेशकुमार यादवको टाउकोमा चोट लागेका छ। यादवको स्थानीय मंगलम् अस्पतालमा उपचार भइरहेको छ।