Kathmandu Press

नेसनल चेस च्याम्पियनसिप मंगलबारबाट

महासंघले आइतबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप बैशाख ५ देखि सुरु भएर १० गतेसम्म संचालन हुने जनाएको छ।
नेसनल चेस च्याम्पियनसिप मंगलबारबाट

काठमाडाैं, वैशाख ३ : नेपाल बुद्धिचाल महासंघको आयोजनामा नेसनल चेस च्याम्पियनसिप मंगलबारबाट सुरु हुने भएको छ।

महासंघले आइतबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप बैशाख ५ देखि सुरु भएर १० गतेसम्म संचालन हुने जनाएको छ। महासंघ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा हुने प्रतियोगिता काठमाडौं लाजिम्पाटस्थित होटल ले हिमालयमा हुनेछ।

६ दिनसम्म चल्ने च्याम्पियनसिप अन्तर्गत २२ औं ओपन एवं सातौं वुमन्स गरी दुई विधामा च्याम्पियनसिप संचालन गरिने आयोजकले जनाएको छ। राउन्ड रोविन प्रणालीमा सञ्चालन हुने च्याम्पियनसिपमा दुवै विधामा १०–१० जना खेलाडीको सहभागीता रहने छ।

नेसनल ’बी’ च्याम्पियनसिपबाट छनौट भएका ८ जना, उच्च रेटिङ भएका एक र वर्तमान च्याम्पियन एकको सहभागीता हुने च्याम्पियनसिपमा खुलातर्फ उच्च वरीयता प्राप्त क्यान्डिडेट मास्टर विवेक थिङ हाल अस्ट्रेलिया भएका कारण सहभागी हुने छैनन्।

च्याम्पियनसिपका विजेताले आगामी मे १ देखि ११ सम्म बंगलादेशको ढाकामा आयोजना हुने फिडे जोन ३.२ चेस च्याम्पियनसिप एवं काजकस्तानको आस्थानामा जुन ५ देखि १५ सम्म हुने एशियन कन्टिनेन्टलमा सहभागीता जनाउने महासंघका अध्यक्ष विदुरप्रसाद गौतमले जानकारी दिए।

प्रत्येक वर्ष आयोजना हुने नेसनल च्याम्पियनसिपमा शीर्ष ३ मा रहने खेलाडीले आगामी वर्ष हुने २३ औँ नेशनल तथा आठौं वुमन नेशनल च्याम्पियनसिपमा सहभागिता सुनिश्चित गर्ने छन् भने अन्य खेलाडीले नेसनल ’बी’ मा प्रतिस्पर्धा गर्नु पर्नेछ।  

प्रकाशित मिति: १८:२१ बजे, आइतबार, वैशाख ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्