Kathmandu Press

नेपाली क्रान्तिको मोडेल कुनै किताबमा भेटिँदैन : प्रचण्ड

काठमाडौं, माघ ११ : पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली क्रान्तिको मोड....

नेपाली क्रान्तिको मोडेल कुनै किताबमा भेटिँदैन : प्रचण्ड

काठमाडौं, माघ ११ : पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली क्रान्तिको मोडेल संसारको कुनै पनि किताबमा नभेटिने बताएका छन्।

शनिबार बिहान गोपीरमण उपाध्याय र मनहरि तिमिल्सिनाद्वारा सम्पादित पुस्तक ‘जनताको जनवादका आधारहरु’ नामक पुस्तक बिमोचन कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको जनवादी क्रान्ति विश्व इतिहासमै मौलिक भएको बताएका हुन्। 

कार्यक्रममा अध्यक्ष प्रचण्डले भने, ‘‘विश्व इतिहासमा पूँजीवादी क्रान्तिको नेतृत्व कम्युनिष्टहरुले गर्ने गरेका छन्। तर, नेपालले त्योभन्दा मौलिक मोडेलको विकास ग¥यो। हाम्रो क्रान्तिमा पूँजीपति वर्गलाई पनि साथ लियौं। यो मोडेल संसारको कुनै पनि किताबमा खोजेर भेटिँदैन।’’ 

प्रचण्डले कम्युनिष्ट आन्दोलन सामन्तवाद, साम्राज्यवाद विरोधी आन्दोलन भएको बताए। उनले भने, ‘‘कम्युनिष्ट आन्दोलन सामन्तवाद, साम्राज्यवादविरोधी आन्दोलन हो। सामन्तवाद र वैदेशिक हस्तक्षेपका विरुद्ध सङ्घर्ष गरेर नै माओत्सेतुङले चीनमा जनवादी क्रान्ति सम्पन्न गर्नुभयो। क्रान्तिको नेतृत्व सर्वहारा वर्गको हातमा आयो। तर, हिन्दूस्तानको आन्दोलन त्यसो हुन सकेन।’’

‘‘हिन्दूस्तानको कम्युनिष्ट आन्दोलनले सफलता प्राप्त गर्न नसक्नुमा साम्राज्यवादसँग नरम नीति लिनु पनि थियो’’ प्रचण्डले भने, ‘‘त्यहाँको कम्युनिष्ट पार्टीले साम्राज्यवादसँग सङ्घर्ष गर्न सकेन। बरु, उल्टै साम्राज्यवादसँग सहकार्यको नीति लियो। त्यसको फाइदा डेमोक्र्याट्सहरुले उठाए। त्यसमा चीन र रुसका कम्युनिष्ट नेताहरुको सल्लाह पनि जिम्मेवार छ। त्यसकारण हिन्दूस्तानको कम्युनिष्ट आन्दोलन सोचेअनुसार अघि बढ्न सकेन। त्यसबाट हामीले गम्भीर शिक्षा लिएका छौं।’’

प्रचण्डले जनताको जनवाद नेकपाको संक्रमणकालीन कार्यदिशा भएको बताए। उनले भने, ‘‘हामीले जनताको जनवादलाई संक्रमणकालीन कार्यदिशाका रुपमा अंगीकार गरेका छौं। समाजवादी क्रान्तिको तयारीका लागि यो एउटा बाटो हो। महाधिवेशनसम्म जाँदा हामी व्यापक अन्तरक्रिया र बहसको प्रक्रियामा जान्छौं। समाजवादी क्रान्तिको कार्यदिशा थप परिमार्जनसहित संश्लेषण गर्छौं।’’

‘जनताको जनवादका आधारहरु’ पुस्तकमाथि टिप्पणी गर्दै नेकपाका स्थायी समिति सदस्य युवराज ज्ञवालीले कम्युनिष्ट आन्दोलन स्वतन्त्रताको आन्दोलन भएको बताए। पुस्तकमाथि टिप्पणी गर्दै उनले भने, ‘‘गोपीरमण उपाध्याय र मनहरि तिमिल्सिनाद्वारा सम्पादित पुस्तक अत्यन्तै उपयोगी छ। यसले नेपालको कम्युनिष्ट आन्दोलनको विकासक्रम बुझ्न सहयोग मिल्नेछ।’’

नेता ज्ञवालीले जनताको जनवादको कार्यदिशाले पूँजीवादलाई सुदृढ नगर्ने बताए। उनले भने, ‘‘जनताको जनवाद पूँजीवादलाई सुदृढ गर्ने कार्यक्रम होइन। यसले पूँजीवादी क्रान्तिका उपलब्धिसँगै समाजवादी क्रान्तिको पनि तयारी गर्ने मान्यता बोक्दछ। कसैले जनताको जनवाद भनेको पूँजीवादको सुदृढीकरण गर्छ भन्यो भने त्यो गलत हुन्छ। हाम्रो कार्यदिशा समाजवादको कार्यदिशा हो, यसमा भ्रमित हुनु हुँदैन।’’

ज्ञवालीले दलाल नोकरशाही पूँजीवादमाथि विजय हासिल नगरी समाजवादमा पुग्न नसकिने बताए। उनले भने, ‘‘समाजवादी क्रान्तिको मुख्य बाधक दलाल नोकरशाही पूँजीवाद हो। त्यसलाई परास्त नगरी समाजवादी क्रान्ति सम्भव हुँदैन। दलाल पूँजीवादले सत्ताको संरक्षण खोज्छ, त्यसमा कम्युनिष्ट पार्टी सचेत हुनुपर्छ। हामीकहाँ वामपन्थी सरकारले नै दलाल पूँजीवादको संरक्षण गरिरहेको छ। यसमाथि समीक्षा गरिनुपर्छ।’’

कार्यक्रममा पुस्तकका सम्पादकद्वय गोपीरमण उपाध्याय र मनहरि तिमिल्सिनाले नेकपाले संश्लेषण गरेको वैचारिक कार्यदिशाको बुझाइमा एकरुपता कायम गर्न पुस्तक सहयोगी हुने बताए। पुस्तक इण्डिको इन्क प्रकाशनले बजारमा ल्याएको हो।
 

प्रकाशित मिति: १६:३० बजे, शनिबार, माघ ११, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्