सुल्झियो कांग्रेसभित्रको विवाद, निर्वाचन कार्यतालिका हेरफेर हुने
काठमाडौं, माघ १० : नेपाली कांग्रेसको अर्को वर्ष फागुन ७ देेखि १० मा हुने १४ औं महाधिवेशनको तल्लो तहका निर्वाचनको कार्यतालिका हेरफेर हुने भएको छ।&....

काठमाडौं, माघ १० : नेपाली कांग्रेसको अर्को वर्ष फागुन ७ देेखि १० मा हुने १४ औं महाधिवेशनको तल्लो तहका निर्वाचनको कार्यतालिका हेरफेर हुने भएको छ।
तर, बहुमतका आधारमा एकलौटी निर्णय महाधिवेशनको मिति तोकेको, विभागको संख्या २८ बाट बढाएर ४७ बनाउने निर्णय गरेको, विधानका धारा निलम्बन गरेको लगायतका निर्णय गरेको भन्दै पौडेल समूहले पछिल्लो समय केन्द्रीय समिति बैठक बहिष्कार गर्दै आएको थियो।
पार्टीभित्र देखिएको विवाद समाधान गर्न भन्दै शुक्रबार बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको बैठकमा संस्थापन पक्ष बहुमतका आधारमा गरेका निर्णय सच्याउन तयार भएपछि पौडेल समूह केन्द्रीय समिति बैठकमा सहभागी हुन तयार भएको हो। पौडेल समूहसँग सहमति भएपछि सभापति देउवाले केन्द्रीय समितिको बैठक माघ १३ गते १ बजेका लागि बोलाएका छन्।
देउवाको निवासमा बसेको बैठकमा संस्थापन पक्ष र पौडेल समूहका शीर्ष नेताहरुबीच १४ औं महाधिवेशन फागुन ७ मा गर्ने यसअघिको निर्णयलाई यथावत राख्दै तल्लो तहका निर्वाचनको कार्यतालिका हेरफेर गर्ने सहमति भएको कांग्रेस उपसभापति विमलेन्द्र निधिले जानकारी दिए।
वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बहिष्कारकाबीच बसेको गत पुस ११ मा बसेको केन्द्रीय समितिको बैठकले बहुमतका आधारमा पार्टीको १४ औं महाधिवेशन २०७७ साल फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको थियो।
उनका अनुसार केन्द्रीय महाधिवेशनलाई असर नगर्ने गरी तल्लो तहका निर्वाचनको कार्यतालिका हेरफेर गरिने छ। तल्लो तहका अधिवेशनको कार्यतालिकाको हेरफेरको मस्यौदा तय गर्ने जिम्मेवारी महामन्त्रीद्वय महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्कालाई दिइएको र आगामी केन्द्रीय समितिको बैठकमा पेश हुने निधिले बताए।
यस्तै, क्रियाशील सदस्यता छानविन गर्न छानविन समिति पनि गठन गर्ने सहमति भएको निधिले बताए। उनका अनुसार समिति सहमतिमै केन्द्रीय समितिको बैठकबाट गठन गरिनेछ। क्रियाशील सदस्यता छानविन समितिलाई १३ औं महाधिवेशनअघि नरहरि आचार्य नेतृत्वको समितिलाई दिइएकै कार्यविधि र अधिकार दिने सहमति पनि भएको निधिले बताए।
यस्तै, नेविसंघको तदर्थ समिति एक-दुई दिनभित्रैमा सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता पाैडेलसँगको परामर्शमा गर्ने पनि सहमति भएको उपसभापति निधिले बताए। राजिव ढुंगानाको अध्यक्षतामा गठन हुने तदर्थ समितिलाई ६ महिनाभित्र १२ औं महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी दिइनेछ।
यस्तै, नैनसिंह महर नेतृत्वको निर्वाचित कमिटी विघटन हुँदाका दिनसम्म ३२ वर्ष नाघेका नेविसंघका नेताहरूले १२ औं महाधिवेशनमा उम्मेदवार बन्न पाउने गरी सहमति पनि भएको उपसभापति निधिले जानकारी दिए। नेविसंघको तदर्थ समितिमा रहने नेताहरु भने १२ औं महाधिवेशनमा उम्मेदवार हुन नपाउने उपसभापति निधिले बताए। नेविसंघको कमिटी कति सदस्यीय हुने भन्ने विषय भने निधिले खुलाउन चाहेनन्।
सहमतिसँगै पौडेल समूह माघ १३ गते बोलाइएको केन्द्रीय समिति बैठकमा सहभागी हुनेछ। यस्तै, तरूण दल, विभाग गठन लगायतका विषयमा भने सहमति हुन बाँकी रहेको उपसभापति निधिले बताए। 'बाँकी विषयमा पनि विस्तारै छलफल गरेर सहमति खोजिने छ,'निधिले भने,'तरूण दल, पार्टीको विभाग गठनबारे सर्वसम्मतिबाटै निर्णय गरिनेछ।'











