शालिग्राम बचाउन महोत्सव
महोत्सवमा कालीगण्डकी नदी र शालिग्रामको महत्व दर्शाउन विभिन्न क्रियाकलाप सञ्चालन गरिने आयोजकले जनाएको छ।बलेवा, चैत ३० : कालीगण्डकी नदी दोहनका कारण कुरुप बनेपछि यहाँ पाइने शालिग्राम शिला बचाउने अभियान चलाइने भएको छ। शालिग्राम बचाउने अभियानमा आम नागरिकलाई जोड्न लक्ष्यले शालिग्राम महोत्सवको तयारी गरिएको हो।
बागलुङ नगरपालिका–४ कुँडुलेमा रहेको रङ्गवेंकटेश्वर मुक्तिनारायण मन्दिर व्यवस्थापन समिति र शालिग्राम सङ्ग्रहालय व्यवस्थापन समितिलगायत अन्य धार्मिक संस्थाको अगुवाइमा आगामी वैशाख ११ देखि १५ गतेसम्म महोत्सव हुने भएको हो। महोत्सवमा कालीगण्डकी नदी र शालिग्रामको महत्व दर्शाउन विभिन्न क्रियाकलाप सञ्चालन गरिने आयोजकले जनाएको छ।
नदी सभ्यता र शालिग्रामको संरक्षणमा आम नागरिकलाई प्रेरित गर्ने, शालिग्रामको महिमाबारे प्रचारप्रसार गर्ने र वातावरण संरक्षणमा चासो बढाउन मेला गर्न लागिएको ऋषि प्रपन्नाचार्यले बताउनुभयो। महोत्सवमा कालीगण्डकी र शालिग्रामको महत्वबारे कवि सम्मेलन, भजन, लोकगीत, र रत्यौलीको माध्यमबाट प्रष्ट बनाउने लक्ष्य राखिएको छ। महोत्सवमा स्थानीयसहित विभिन्न धार्मिकस्थलबाट भक्तजन तथा धार्मिक अगुवाको सहभागिता रहने उहाँले जानकारी दिनुभयो। रू छ करोड ५० लाखमा बनाइएको भूमिगत शालिग्राम सङ्ग्रहालयमा एक लाख १५ हजार शालिग्राम सङ्ग्रह गरिएका छन्।
सङ्ग्रहालय निर्माणपछि शालिग्रामको महत्वबारे धेरैले बुझ्ने अवसर पाएका छन्। यहाँ दैनिक दुई सयदेखि पाँच सय धार्मिक पर्यटक आउने बताइएको छ। 'नदीमा लोप हुन लागेकाले शालिग्रामको सङ्ग्रहालय बनाउनुपर्यो” ऋषि प्रपन्नाचार्यले भने 'अब कालीगण्डकी बचाउन सकिएन भने शालिग्रामको अस्तित्व नै लोप हुनेछ। नदी किनारका ठूला ढुङ्गासमेत फोडेर सकिएकाले अब नदी सभ्यता नै लोप हुने अवस्थामा पुगेको छ।'
नदीको सभ्यता जोगाउन र वातावरण संरक्षण गर्न राज्यले नीतिगत व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो। कालीगण्डकी नदीमा मात्र शालिग्राम पाइने भएकाले ढुङ्गा गिटी र बालुवा उत्खनन गर्दा संरक्षणसम्बन्धी नीति बनाउनुपर्ने माग गरिएको छ।
महोत्सवमा शालिग्रामको गौरवगाथा विषयक कवि गोष्ठी, कालिगण्डकी र शालिग्रामको काव्यव्यथा विषयक रत्यौली, आत्यात्मिक प्रवचन, शालिग्रामकै महिमा विषयक भजन, झाँकी र नृत्य तथा प्रवचन, कालीगण्डकी र शालिग्रामको कथाव्यथा विषयक आध्यात्मिक दोहोरी र प्रवचन समावेश गरिएको आयोजकले जनाएको छ।