ए डिभिजन लिगमा संकटा र हिमालयन शेर्पा विजयी
बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा संकटाले एनआरटीलाई २–१ गोल अन्तरले पराजित गरेको हो।
काठमाडाैं, चैत २९ : राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा संकटा क्लबले न्युरोड टिम एनआरटीलाई पराजित गरेको छ।
बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा संकटाले एनआरटीलाई २–१ गोल अन्तरले पराजित गरेको हो। खेलको २२ औं मिनेटमा जुनियर एनकेनगुएले गोल गर्दै संकटालाई सुरुआती अग्रता दिलाएका थिए। खेलको ३७ औं मिनेटमा मनिष डाँगीले गोल गर्दै संकटालाई २–० को अग्रता दिलाए।
त्यसपछि खेलको ६२ औं मिनेटमा एनआरटीका निकोलस सेर्जी सङले गोल गरेपनि संकटा २–१ ले विजयी भयो। जितसंगै संकटाले ८ खेलमा १२ अंक जोडेको छ। एनआरटीले ८ खेलमा ६ अंक जोडेको छ।
त्यस्तै बुधबार च्यासल मैदानमा भएको खेलमा हिमालयन शेर्पा क्लबले एपीएफ क्लबलाई ५–३ गोल अन्तरले पराजित गरेको छ। खेलको आठौं मिनेटमा सुदिप श्रेष्ठले गोल गर्दै हिमालयनलाई सुरुआती अग्रता दिलाएका थिए। खेलको २४ औं मिनेटमा सत्यम शर्माले गोल गर्दै हिमालयनलाई २–० को अग्रता दिलाए। २८ औं मिनेटमा सत्यमले व्यक्तिगत दोस्रो गोल गर्दै हिमालयनलाई ३–० को अग्रता दिलाए।
पहिलो हाफको इन्जुरी समयमा अर्मान्ड बिडोमले गोल गर्दै एपीएफलाई ३–१ को स्थितिमा ल्याए। खेलको ४७ औं मिनेटमा सनिश श्रेष्ठले गोल गर्दै एपीएफलाई ३–२ को स्थितिमा ल्याए। खेलको ६३ औं मिनेटमा प्रदीप लामाले गोल गर्दै एपीएफलाई ३–३ गोलको बराबरीमा ल्याए। खेलको ७५ औं अबायोमी फाकुन्लेले गोल गर्दै हिमालयनलाई ४–३ को अग्रता दिलाए। त्यसपछि खेलको ८९ औं मिनेटमा विश्वास श्रेष्ठले गोल गर्दै हिमालयनलाई ५–३ को जित दिलाए। हिमालयन ८ खेलमा ९ अंक जोडेर दशौँ स्थानमा उक्लिएको छ। एपीएफ ८ खेलमा ११ अंक जोडेर आठौं स्थानमा रहेको छ।











