Kathmandu Press

शहीद सप्ताह सुरू : शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पण

काठमाडौं, माघ १० : काठमाडौंको टेकु मचलीस्थित शहीद शुक्रराज शास्त्रीलाई मृत्युदण्ड दिइएको स्थानमा शुक्रबार श्रद्धाञ्जली सभा आयोजना गरिएको छ। शहीद शुक्र....

शहीद सप्ताह सुरू : शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पण

काठमाडौं, माघ १० : काठमाडौंको टेकु मचलीस्थित शहीद शुक्रराज शास्त्रीलाई मृत्युदण्ड दिइएको स्थानमा शुक्रबार श्रद्धाञ्जली सभा आयोजना गरिएको छ। शहीद शुक्रराजको शालिकमा माल्यार्पण गरिएको छ।

यस वर्ष शहीद सप्ताहको पहिलो दिन शुक्रराजले सहादत प्राप्त गरेको स्थानमा श्रद्धाञ्जली सभा आयोजना गरिएको हो।  श्रद्धाञ्जली सभामा बोल्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले पारिवारिक रुपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पुर्‍याउन बलिदानी दिने शहीदको योगदानका कारण नेपालमा गणतन्त्र आउन सकेको धारणा राखे। ‘दलको कुरा गर्ने नपाइने अवस्थामा ज्यानको ख्याल नगरी प्रजातन्त्रका पक्षमा ज्यान आहुती दिने शहीदहरुको योगदान मेरा लागि सिकाइ हो,’ मेयर शाक्यले भने, ‘शहीदहरुको योगदान चीरकालसम्म स्मरण रहिरहनेछ।’

शुक्रराजको जन्म विसं. १९५० मा बनासरमा भएको थियो। भारतकै देहरादुनस्थित अच्युतानन्दको गुरुकुलबाट प्रारम्भिक शिक्षा लिएका शुक्रराजले इलाहवादकै आर्य समाज बिद्यालयमा केही समय प्रधानाध्यापकका रुपमा काम गरेका थिए।

त्यस क्रममा उनले पटना, दार्जिलिङ्, कलकत्तालगायत स्थानमा भएका नेपाली भाषीबीच नागरिकअधिकारका विषयमा संगठन गर्न थालिसकेका थिए। त्यसपछि नेपाल फर्किएका शुक्रराजलाई उपत्यकामा नजरबन्दमा राखिएको थियो।

यति हुँदाहुँदै पनि उनले वि.सं. १९९४ मा असनमा आफ्नै अध्यक्षतामा नागरिकअधिकार समिति गठन गरेका थिए। यस समितिको सदस्यमा गंगालाल श्रेष्ठसमेत थिए।

धार्मिक गतिबिधिबाट जहानियाँ साशनविरुद्ध जागरण अभियान सञ्चालन गर्ने क्रममा १९९४ मंसिर १३ गते इन्द्रचोकमा मानिसहरुलाई भेला गराएर गीताका श्लोकमार्फत जहानियाँ शासनको आलोचना गरेका थिए। राणाको बिरोध गरेको आरोप लगाएर उनलाई पक्राउ गरिएको थियो।

वि.सं. १९९७ माघ ७ गते सिंहदरबारमा राजा त्रिभुवन र प्रधानमन्त्री जुद्धशमसेरसहितको इजलासले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्द र पूर्णनारायण प्रधान गरी पाँच जनालाई सर्वस्वसहित ज्यान सजायँको फैसला सुनाइएको थियो। पछि पूर्णनारायणको सजायँलाई आजन्म कैदमा परिवर्तन गरियो।

यसरी जेल सजायँ भोगिरहेकै बेला राणा साशनविरुद्ध देश विदेशमा भएका भूमिकामा नाइके भएको आरोप लगाएर शुक्रराजलाई वि.सं. १९९७ माघ १० गते टेकु मचलीस्थित खरिबोटमा  र धर्मभक्त माथेमालाई सिफल उकालो बकाइनाका रुपमा झुण्ड््याएर प्राणदण्ड दिइएको थियो। त्यस्तै गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई शोभा भगवतीमा गोली हानेर प्राण दण्ड दिइएको थियो।  

प्रजातन्त्र प्राप्तिका लागि ज्यानदण्ड पाएका चारै शहीदहरुको पूर्ण कदको शालिक स्थापना गर्ने क्रममा यस वर्ष महानगरले धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दको शालिक प्रतिस्थापन गर्दै छ। गत बर्ष माघ १० गते टेकु मचलीस्थित खरिवोटमुनि आयोजना गरिएको श्रद्धाञ्जली सभामा शुक्रराज शास्त्रीको शालिकको अनावरण गरिएको थियो।

शहीद सप्ताहका बाँकी कार्यक्रमहरुमा माघ १३ गते सिफलमा शहीद धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्थानमा र माघ १५ गते शोभा भगवतीमा गंगालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थानमा श्रद्धाञ्जली सभा हुनेछ। त्यस्तै माघ १६ गते शहीद स्मारक लैनचौरमा ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जली सभा हुने जनाएको छ।

प्रकाशित मिति: १३:५१ बजे, शुक्रबार, माघ १०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्