Kathmandu Press

‘प्रधानसेनापति ट्रफी–२०७९’ प्रतियोगिता सुरु

‘प्रधानसेनापति ट्रफी–२०७९’ प्रतियोगिता सुरु

काठमाडाैं, चैत २७ : नेपाली सेनाले हरेक वर्ष आयोजना गर्दै आएको ‘प्रधानसेनापति ट्रफी–२०७९’ सुरु भएको छ । प्रतियोगिता सैनिक मुख्यालयभित्रको खेलमैदानमा आज आयोजित एक कार्यक्रमबीच प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरे।

आगामी वैशाख १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न नौ खेल समावेश गरिएको छ । जसमा एथ्लेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, भलिबल, बास्केटबल, फुटबल, सुटिङ र आर्चरी विधाका खेलहरु समावेश गरिएको छ ।

प्रतियोगिताका खेलहरु भद्रकालीस्थित नेपाली सेनाको खेलकुद मैदानका साथै छाउनीस्थित जगदल गण र लगनखेलस्थित सैनिक शारीरिक तथा खेलकुद केन्द्रमा सञ्चालन हुनेछ ।

उत्कृष्ट खेल प्रतिभाहरुको पहिचान गरी खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा स्थापित गर्ने उद्देश्यले २०६५ सालदेखि सुरु भएको ‘प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिता’ नेपाली खेलकुद क्षेत्रको विकासका लागि कोसेढुङ्गा साबित भएको विश्वास नेपाली सेनाको छ ।

उद्घाटनका अवसरमा आज महिलाहरुको एक हजार पाँच सय मिटर र पुरुषहरुको आठ सय मिटर दौडमा विजयी हुने खेलाडीहरुलाई प्रधानसेनापति शर्माले पुरस्कार वितरण गरेका थिए। प्रतियोगितामा महिलातर्फ लिजा लम्तरीले ५ मिनेट १७ सेकेन्डमा दौड पूरा गरी प्रथम भएका थिए।

त्यस्तै, सोमिता पहरीले ५ मिनेट २३ सेकेन्ड समयमा द्वितीय र निशा बुढामगरले ५ मिनेट २५ सेकेन्डको समयमा दौड पूरा गरी तृतीय भएका थिए। त्यस्तै, पुरुषतर्फ ४ मिनेट १० सेकेन्ड डौड पूरा गरी रामचन्द्र बानियाँ प्रथम थिए। मिलन कार्कीले ४ मिनेट १० सकेन्ड बढी समयमा दोस्रो भए भने दीपेन्द्रनाथ ४ मिनेट १३ सेकेन्डमा डौड पूरा गरी तृतीय भएका थिए।

प्रकाशित मिति: १८:४७ बजे, सोमबार, चैत २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्