प्रदेश ५ बाट राष्ट्रियसभा सदस्यमा नेकपाका भट्टराई, शर्मा र घिमिरे निर्वाचित
काठमाडौं, माघ ९ : प्रदेश नम्बर ५ बाट राष्ट्रियसभा सदस्यमा सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तीनै जना उम्मेदवार निर्वाचित भएका छन्।<....

काठमाडौं, माघ ९ : प्रदेश नम्बर ५ बाट राष्ट्रियसभा सदस्यमा सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तीनै जना उम्मेदवार निर्वाचित भएका छन्।
तीन सदस्यका लागि यो प्रदेशबाट ९ जना चुनावी मैदानमा भिडेका थिए। खुल्लातर्फ नेकपाका गोपाल भट्टराई विजयी भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण पाण्डेलाई पराजित गरे।
विजयी भट्टराईले ५ हजार ३ सय ८२ मतभार पाउँदा कांग्रेसका पाण्डेले २ हजार ५२ मतभार प्राप्त गरे।
यसैगरी, अपांगतातर्फ नेकपाकै जगप्रसाद शर्मा विजयी भएका छन्। शर्माले कांग्रेसका मेहराज अहमद हलवाइलाई पराजित गरे। शर्माले ५ हजार ४ सय २४ मतभार पाउँदा कांग्रेसका हलवाइले १ हजार ९ सय ८६ मतभार पाए।
यसैगरी, महिलातर्फ पनि नेकपाकै विमला घिमिरे निर्वाचित भएकी छिन्। घिमिरेले कांग्रेसकी उम्मेदवार गिरिजादेवी न्यौपानेलाई पराजित गरिन्। राष्ट्रियसभा सदस्यमा निर्वाचित घिमिरेले ५ हजार ७ सय ७८ मतभार पाउँदा कांग्रेसकी गिरीजादेवीले २ हजार १ सय मतभार प्राप्त गरिन्।
निर्वाचनमा प्रदेश नम्बर ५ मा ३ सय ३ मत खसेको थियो।











