Kathmandu Press

राष्ट्रियसभा निर्वाचन: मतदान अन्तिम चरणमा, आजै मतगणना

काठमाडौं, माघ ९ :  राष्ट्रिय सभा निर्वाचनअन्तर्गत मतदान अन्तिम चरणमा पुगेको छ। प्रायः सबै मतदान केन्द्रमा मतदान सकिन लागेको जनाएको छ।

ब....

राष्ट्रियसभा निर्वाचन: मतदान अन्तिम चरणमा, आजै मतगणना

काठमाडौं, माघ ९ :  राष्ट्रिय सभा निर्वाचनअन्तर्गत मतदान अन्तिम चरणमा पुगेको छ। प्रायः सबै मतदान केन्द्रमा मतदान सकिन लागेको जनाएको छ।

बिहान १० बजेदेखि सुरू भएको मतदान अपराह्न ४ बजेसम्म चल्नेछ। अधिकांश मतदाताले मतदान गरिसकेको निर्वाचन आयोगले जनाएको छ।

मतदान सकिएलगत्तै आजै मतगणना सुरू हुनेछ। अवेर रातिसम्म मत परिणाम आउने जनाएको छ।

कहाँ कसरी हुँदै छ मतदान?

पाेखरा : गण्डकी प्रदेशमा मतदान जारी रहेको छ। जिल्ला निर्वाचन कार्यालय कास्कीको परिसरमा मतदाता मतदान चलिरहेको छ। मतदानका लागि गण्डकी प्रदेशअन्तर्गतका ११ वटै जिल्लाबाट अधिकांश मतदाता बुधबार नै आएका थिए।

राजनीतिक दललेसमेत आफू निकट मतदातालाई अनिवार्यरुपमा निर्वाचनमा सहभागी बन्न निर्देशन दिइसकेका छन्। गण्डकीमा ‘अन्य समूह’ र ‘महिला समूह’तर्फ गरी दुई पदका लागि हुने निर्वाचनमा प्रदेशसभा सदस्य ६० र ८५ स्थानीय तहका प्रमुख÷उपप्रमुख १७० गरी २३० मतदाताले भाग लिनेछन्।

निर्वाचनका लागि दुई मतदान केन्द्र तोकिएका जिल्ला निर्वाचन कार्यालयका प्रमुख महेन्द्र सुवेदीले बताए। प्रमुख÷उपप्रमुखको एक मत बराबर १८ मतभार रहेको छ। प्रदेशसभाको दुई हजार ८८० र स्थानीय तहको तीन हजार ६० गरी कूल ५९४० मतभार गण्डकीमा छ।  

निर्वाचनमा सत्तारुढ नेकपा र कांग्रेसले ‘अन्य समूह’ र ‘महिला समूह’दुवै पदमा उम्मेदवारी दिएका छन् भने राष्ट्रिय जनमोर्चाले ‘अन्य समूह’ तर्फमात्र उम्मेदवारी दिएको छ। नेकपाबाट पार्टीका केन्द्रीय सचिवलाय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘अन्य समूह’बाट र महिलातर्फ भगवती न्यौपाने उम्मेदवार छन्।

त्यस्तै, काँग्रेसले सूर्यप्रसाद रेग्मी र विमला गौचनलाई उम्मेदवार बनाएको छ। जनमोर्चाबाट ‘अन्य समूहमा’ शङ्कर बराल उम्मेदवार बनेका छन्।

जनकपुरधाम :  प्रदेश २ मा महेन्द्रनारायण संस्कृति केन्द्र जनकपुरको परिसरस्थित मतदान केन्द्रमा मुख्यमन्त्री लालबाबु राउतले मतदान गरेका छन्। मतदान गर्न प्रदेशका मन्त्री, प्रदेशसभा सदस्य र स्थानीय तहका नगरपालिकाका प्रमुख उपप्रमुखका साथै गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष उपस्थित छन्।

मतदानका लागि दुई वटा मतदान केन्द्र निर्धारण गरिएको छ। प्रदेशमा प्रदेशसभा सदस्यको मतभार पाँच हजार १३६ र स्थानीय तहका मतदाता २७२ को मतभार चार हजार ८९६ रहेको छ।

प्रदेशमा कूल मतभार १० हजार ३२ हुन्छ। चार राष्ट्रियसभा सदस्यका लागि हुन गइरहेको निर्वाचनमा आठ जना चुनावी प्रतिस्पर्धामा छन्।

घोराही  राष्ट्रियसभाको निर्वाचनअन्तर्गत प्रदेश ५ को मतदान अहिले दाङमा चलिरहेको छ। राष्ट्रियसभा सदस्यलाई मतदान गर्नका लागि अहिले प्रदेशका १२ जिल्लाका प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख÷उपप्रमुख र अध्यक्ष÷उपाध्यक्ष मतदान प्रक्रियामा भाग लिइरहेका छन्।

दाङ देउखुरी जिल्ला अदालतका प्रमुख एवं मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार मतदानका लागि दुई वटा मतदान केन्द्र तोकिएको छ। थापाका अनुसार ‘क’ मतदान केन्द्रमा प्रदेशसभा सदस्य र ‘ख’ मतदान केन्द्रमा स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गरिरहेका छन्।

नेकपा र कांग्रेसबाट तीन÷तीन जनाले प्रतिस्पर्धा गरिरहेका छन् भने समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबाट एक जनाले उम्मेदवार छन्।

दाङ : प्रदेश ५ मा नेकपाले अपाङ्गबाट जगप्रसाद शर्मा,  महिला सदस्य विमला घिमिरे र अन्यबाट गोपाल भट्टराई चुनावी मैदानमा उतारेको छ।  कांग्रेसले महिला सदस्यमा गिरीजादेवी न्यौपाने, अल्पसङ्ख्यक सदस्यमा मेहराज अहमद हलुवाई र अन्यबाट बालकृष्ण पाण्डेलाई उम्मेदवार बनाएको छ। समाजवादी पार्टीबाट अल्पसङ्ख्यक सदस्यमा सुनिल सिंघल र अन्यबाट कृष्णप्रसाद यादव छन्। यस्तै राष्ट्रिय जनमोर्चाबाट शिवप्रसाद पौडेल उम्मेदवार रहेका छन्।

डोटी : राष्ट्रियसभा सदस्यको निर्वाचनअन्तर्गतको मतदान जारी रहेको छ। मतदान कार्यक्रममा सुदूरपश्चिमका प्रदेशसभा सदस्य ५३ र स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्ष १७६ गरी कूल २२९ मतदानमा सहभागी रहेका मुख्य निर्वाचन अधिकृत विदुर काफ्लेले जानकारी दिए।

राष्ट्रियसभामा सुदूरपश्चिम प्रदेशबाट रिक्त रहेको दुई पदमध्ये एक महिला तथा एक पुरुषको उम्मेदवारी रहेको मुख्य निर्वाचन आयोगको कार्यालयले जनाएको छ। दुई मतदान केन्द्र रहेको निर्वाचनमा सोही स्थानमा ‘क’ र ‘ख’ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए।

सत्तारुढदल नेकपाका तर्फबाट अछामका तारामान स्वाँर, कैलालीकी शारदा भट्ट र कांग्रेसबाट कैलालीकै तुलसी देवकोटा तथा बैतडीका प्रताव ठगुन्नाले उम्मेदवार रहेका छन्।

विराटनगर : राष्ट्रियसभाको तीन पदका लागि आज शुरु भएको निर्वाचनमा प्रदेश १ मा अहिलेसम्ममा कूल ३४९ मत खसिसकेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। स्थानीय तहबाट १३० महिलासहित २६५ र प्रदेशसभाका सदस्यतर्फ २९ महिलासहित ८४ ले मतदान गरिसकेका जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी तीर्थ अधिकारीले जानकारी दिए।

मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, सभामुख प्रदीप भण्डारी, उपसभामुख सरस्वती पोखरेल, प्रमुख प्रतिपक्ष दल कांग्रेसका संसदीय दलका नेता राजीव कोइरालाले मतदान गरेका छन्। (राससकाे सहयाेगमा)

प्रकाशित मिति: १४:४९ बजे, बिहीबार, माघ ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्