Kathmandu Press

सुत्केरी हुँदा श्रीमानलाई पनि सँगै राख्ने तयारी

काठमाडौं, माघ ९ : शिशु कसरी जन्माउने रु प्राकृतिक (नर्मल) अथवा शल्यक्रिया (अप्रेशन)मार्फत। यी विधि गर्भवतीको रोजाइले भन्दा श्रीमान्, घरपरिवार र स्वास्....

सुत्केरी हुँदा श्रीमानलाई पनि सँगै राख्ने तयारी

काठमाडौं, माघ ९ : शिशु कसरी जन्माउने रु प्राकृतिक (नर्मल) अथवा शल्यक्रिया (अप्रेशन)मार्फत। यी विधि गर्भवतीको रोजाइले भन्दा श्रीमान्, घरपरिवार र स्वास्थ्यकर्मीको निर्णयले नेपालमा प्राथमिकता पाइरहेको छ।

स्वास्थ्य संस्था अथवा घरमा सुत्केरी व्यथाले छट्पटाइरहेकी श्रीमतीको दुःखको साक्षी प्रायः श्रीमान् हुँदैनन्। उनीको साथमा आमा, सासु, दिदीबहिनी अन्य महिला नै हुने गर्छन्। सुत्केरी हुने अवस्थामा श्रीमान् अनिवार्य हुनुपर्ने प्रावधान विकसित देशमा रहेको बताइन्छ।

कतिपय देशमा श्रीमानको अनुमतिबिना चिकित्सकले गर्भवती जाँचसमेत गर्दैनन्। श्रीमान्लाई साथमा राखेर सेवा दिन्छन्।

अब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित जुम्ला अस्पतालले गर्भवतीले आफूले चाहेको विधिमा सुत्केरी हुन पाउने र विशेषगरी सुत्केरी हुन लागेको अवस्थामा श्रीमान् अथवा घरपरिवार अनिवार्य साथमा रहनुपर्ने अभ्यासलाई प्रयोगमा ल्याउने तयारी गरेको छ। त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालले ती अभ्यासलाई

पहिलोपटक व्यवहारमा ल्याएको थियो। प्रसूति तथा स्त्रीरोगसम्बन्धी केन्द्रीय अस्पताल परोपकार प्रसूतिगृह थापाथलीले यो अभ्यासलाई हालसम्म व्यवहारमा ल्याउन सकेको छैन।

सुत्केरी हुन लागेको अवस्थामा रहेकी महिलाका साथमा स्वास्थ्यकर्मी मात्र रहन्छन। पुरुषलाई निषेध छ। परिवारका आफन्तले सुत्केरीलाई मुस्किलले भेट्न पाउँछन्। अब कर्णाली जुम्ला अस्पतालमा भने श्रीमान पनि सँगै राख्ने व्यवस्था गर्न लागिएको हो।

प्रतिष्ठानका नर्सिङ डीन सरस्वती गौतमले प्राकृतिकरूपमा सहज सुत्केरी गराउन जुम्ला अस्पतालले छुट्टै बर्थिङ सेन्टर (सुत्केरी केन्द्र) स्थापना गर्न लागेको बताइन्।

उनका अनुसार, ‘चिकित्सकले जटिल भनेर सिफारिश गरेका बाहेक’ अन्य गर्भवतीलाई प्राकृतिकरूपमा सुत्केरी गराउन मिडवाइफले सेवा दिनेछन्। अस्पतालमा पछिल्लो समय शल्यक्रियामार्फत सुत्केरी गराउन निरुत्साहित हुँदै आएको छ।

‘नर्मल विधिबाट डेलिभरी हुन पाउनु महिलाको अधिकार हो, शल्यक्रिया त जटिल अवस्थामा दोस्रो विकल्प हो। पहिलो विकल्प हुँदाहुँदै दोस्रोको प्रयोगलाई न्यूनीकरण गर्ने हाम्रो ध्येय हो,’ उनले भनिन्, ‘सुत्केरी हुने अवस्थामा श्रीमान् अथवा घरपरिवार नजिक हुँदा आत्मबल उच्च हुन्छ। शिशु निकाल्न शक्ति उत्पन्न हुन्छ। यसैले सुत्केरी हुँदा नजिक परिवारको अनिवार्य खोजी गरिएको हो।’

सुत्केरी गराउन, आमा र नवजात शिशुको स्याहार तथा परिवार नियोजनका सेवा प्रदान गर्न मिडवाइफलाई उत्कृष्ट मानिन्छ। पछिल्लो समय प्राकृतिकभन्दा शल्यक्रियामार्फत सुत्केरी गराउने सङ्ख्यामा वृद्धि भइराखेको जनाइएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नवजात शिशु, शिशु, पाँच वर्षमुनिका बालमृत्युदर तथा मातृमृत्युदर घटाउन मिडवाइफ जनशक्ति उत्पादनलाई उच्च प्राथमिकतामा राखेको छ।

हाल चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स)बाट पहिलो समूहमा नौ मिडवाइफ जनशक्ति उत्पादन भएका छन्। काठमाडौँ विश्वविद्यालयले सो विषयमा अध्यापन सुरुआत गराएको छ। यहाँस्थित संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए)ले ती दुई निकायलाई प्राविधिक सहयोग गरेको जनाइएको छ।

आगामी वर्षदेखि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले ती विषयमा अध्यापन गराउने तयारी गर्दैछन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जुम्ला अस्पताल, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई आवश्यक पर्ने मिडवाइफ जनशक्ति उत्पादन गर्न गत वर्षदेखि मिडवाइफमा तीनवर्षे स्नातक कार्यक्रम सञ्चालन ल्याएको थियो। हाल गत वर्षका ६ र यस वर्षका १० जनाले सो विषय अध्ययन गरिराखेका छन्।

‘ज्ञान, सीप र व्यवहार तीनै पक्षबाट विद्यार्थीलाई उत्कृष्ट बनाउन प्रतिष्ठानले उच्च ध्यान दिएको छ । हाम्रा जनशक्ति विश्वबजारमा प्रतिष्पर्धा गर्न सक्ने हुन्छन् । पाठ्यक्रम स्थानीय होइन, अन्तरराष्ट्रियस्तरको हो,’ प्रतिष्ठानकी नर्सिङ डीन भट्टराईले भनिन्।

यो विषयमा स्नातक तह अध्ययन गरिराखेका विद्यार्थीको ज्ञान, सीप र व्यवहार मापन गर्न प्रतिष्ठानले ‘दक्षता मापन विधि’ को मस्यौदा तयार पारेको छ। (रासस)

प्रकाशित मिति: १३:१२ बजे, बिहीबार, माघ ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्