Kathmandu Press

हिमालयन शेर्पा र मछिन्द्रले बराबरी खेल्दै बाँडे अंक

बिहीबार एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा हिमालयन र मछिन्द्रले १–१ गोलको बराबरी खेलेका छन्। खेलको इन्जुरी समयमा विमल घर्ति मगरले गोल गरेपछि मछिन्द्र हारबाट जोगिएको हो।
हिमालयन शेर्पा र मछिन्द्रले बराबरी खेल्दै बाँडे अंक

काठमाडौं, चैत २३ : राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लब र मछिन्द्र फुटबल क्लबले बराबरी खेल्दै अंक बाँडेका छन्।

बिहीबार एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा हिमालयन र मछिन्द्रले १–१ गोलको बराबरी खेलेका छन्। खेलको इन्जुरी समयमा विमल घर्ति मगरले गोल गरेपछि मछिन्द्र हारबाट जोगिएको हो। त्यसअघि सत्यम शर्माले गोल गर्दै हिमालयनलाई सुरुआती अग्रता दिलाएका थिए। खेलको ८६ औं मिनेटमा सत्यमले पेनाल्टीमार्फत गोल गरेका हुन्।

मछिन्द्रका डिफेन्डर छिरिङ गुरुङले ह्यान्डबल गरेपछि हिमालयनले पेनाल्टीको अवसर पाएको थियो। जसमा सत्यमले सहजै गोल गरे।  यस बराबरीसँगै हिमालयनले ६ खेलमा ६ अंक जोडेको छ। मछिन्द्रले पनि ६ खेलमा ६ अंक जोडेको छ।

त्यस्तै च्यासल मैदानमा बिहीबार भएको खेलमा थ्री स्टार क्लबले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्यो। थ्री स्टारले आर्मीलाई १–० गोल अन्तरले पराजित गरेको हो। थ्री स्टारको  जितमा अजयी मार्टिन्सले खेलको १७ औं मिनेटमा निर्णायक गोल गरे।थ्री स्टारले ६ खेलमा १० अंक जोडेको छ। आर्मीले ६ खेलमा ८ अंक जोडेको छ।

प्रकाशित मिति: १६:३४ बजे, बिहीबार, चैत २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्