Kathmandu Press

राष्ट्रिय सभा सदस्यका लागि मतदान सुरू

काठमाडौं, माघ ९ : राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तर्गत सातै प्रदेशमा मतदान सुरू भएको छ। आज बिहान १० बजेदेखि मतदान सुरू भएको निर्वाचन आयोगले जनाएको छ....

राष्ट्रिय सभा सदस्यका लागि मतदान सुरू

काठमाडौं, माघ ९ : राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तर्गत सातै प्रदेशमा मतदान सुरू भएको छ। आज बिहान १० बजेदेखि मतदान सुरू भएको निर्वाचन आयोगले जनाएको छ।

बिहीबार राष्ट्रिय सभाका १८ सदस्यका लागि मतदान सुरू भएको हो। बिहान १० देखि सुरू भएको मतदान अपराह्न ४ बजेसम्म चल्नेछ।

प्रदेश १ को विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, प्रदेश २ को जनकपुरधाम उपमहानगरपालिकाको महेन्द्रनारायण स्मृति भवन, बागमती प्रदेशको ललितपुर महानगरपालिका–४ वडासमिति भवन र गण्डकी प्रदेशको जिल्ला निर्वाचन कार्यालय कास्की परिसरमा मतदान सुरू भएको हो।

त्यस्तै, प्रदेश ५ को घोराही उपमहानगरपालिकाको कर्मचारी मिलन केन्द्र, कर्णाली प्रदेशको जिल्ला निर्वाचन कार्यालय सुर्खेत परिसर र सुदूरपश्चिम प्रदेशको सिलगढी नगरपालिकाको पद्म पब्लिक मुक्तिनारायण माविमा मतदान केन्द्र रहेको छ।

निर्वाचनमा पाँच सय ५० प्रदेशसभा सदस्य तथा स्थानीय तहका अध्यक्ष/उपाध्यक्ष, प्रमुख/उपप्रमुख एक हजार पाँच सय ६ समेत गरी दुई हजार ५६ मतदाता रहेका छन्। निर्वाचनमा ६ राजनीतिक दलका ४५ उम्मेदवार प्रतिस्पर्धामा छन्।

प्रदेशसभा सदस्यको मतभार ४८ तथा स्थानीय तहका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष एवं नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १८ कायम गरिएको छ।
मतदानपछि आवश्यक व्यवस्था मिलाई मतगणना गर्न र नतिजा सार्वजनिक गर्न पनि निर्वाचन अधिकृतलाई आयोगले निर्देशन दिइसकेको छ।

५९ सदस्यीय राष्ट्रियसभाका आगामी फागुन २० गते पदावधि सकिने १९ मध्ये १८ नयाँ सदस्य चयनका लागि निर्वाचन भइरहेको हो। एक सदस्य भने सरकारको सिफारिशमा राष्ट्रपतिले मनोनयन गर्ने संवैधानिक प्रावधान छ।

प्रकाशित मिति: १०:२५ बजे, बिहीबार, माघ ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्