बेन्जिमाको ह्याट्रिकमा बार्सिलोनामाथि रियलकाे सानदार जित
बेन्जिमाको ह्याट्रिक मद्दतमा सेमिफाइनलको दोस्रो खेलमा रियलले बार्सिलोनामाथि ४–०को सानदार जित निकाल्यो।
काठमाडाैं, चैत २३ : फ्रेन्च स्ट्राइकर करिम बेन्जिमाले लागातार दोस्रो खेलमा ह्याट्रिक गरेपछि रियल मड्रिड कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ। बेन्जिमाको ह्याट्रिक मद्दतमा सेमिफाइनलको दोस्रो खेलमा रियलले बार्सिलोनामाथि ४–०को सानदार जित निकाल्यो।
यो जितसँगै रियल समग्रमा ४–१को जित निकाल्दै फाइनलमा पुग्यो। सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना १–०ले विजयी भएको थियो।
बुधबार राति क्याम्प नेउमा भएको खेलका रियलका लागि बेन्जिमासँगै भिनिसियस जुनियरले पनि गोल गरे। रियलले पहिलो हाफमा १ र दोस्रो हाफमा ३ गोल गरेको थियो ।
पहिलो हाफको अन्तिम समयमा काउन्टरमा भिनिसियसले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाए। इन्जुरी समयमा उनले बेन्जिमाको पासमा गोल गरेका थिए। पहिलो हाफमा दबाबमा रहेर पनि अग्रता लिएको रियलले दोस्रो हाफमा भने उत्कृष्ट खेल पस्किएको थियो।
दोस्रो हाफको सुरुआतबाटै आक्रामक बनेको रियलले ५०औं अग्रता दोब्बर बनायो । बेन्जिमाले लुका मोड्रिचले डिबक्सको ठीक बाहिर दिएको पासमा गोल गरेका थिए। त्यसपछि ५८औं मिनेटमा पेनाल्टीमा गोल गर्दै बेन्जिमाले रियललाई ३–०को अवस्थामा ल्याए।
डिबक्समा राफिन्हाले भिनिसियसलाई फाउल गरेपछि रियलले पेनाल्टी पाएको थियो। ८०औं मिनेटमा कान्टरमा भिनिासियसकै पासमा बेन्जिमाले गोल गर्दै रियललाई ४–०को अग्रता दिलाए भने लगातार दोस्रो खेलमा ह्याट्रिक गरे।
रियलले अब उपाधिका लागि ओसासुनासँग प्रतिस्पर्धा गर्नेछ। फाइनल ठीक एक महिनापछि मे ६मा हुनेछ।











