ओलम्पिक छनोटमा भियतनामसँग नेपाल पराजित
घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल बलियो भियतनामसँग ५–१ले पराजित भयो ।
काठमाडाैं, चैत २२ : पेरिस ओलम्पिकको महिला फुटबलको पहिलो चरणको छनोटमा नेपाल पराजित भएको छ। घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल बलियो भियतनामसँग ५–१ले पराजित भयो ।
खेलमा भियतनामका लागि कप्तान हियुन नुलेले २ तथा हाई येन, नुयेन थि थान नाले गोल गर्दा एक गोल आत्मघाती भएको थियो। नेपालका लागि सावित्रा भण्डारीले सान्त्वना गोल गरिन्।
११औं मिनेटमा हाई येनको गोलमा भियतनामले अग्रता लियो । ३५औं मिनेटमा नुलेले भियतनामको अग्रता दोब्बर बनाइन्। उनले नेपाली डिफेन्डर हिरा भुजेलले ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा गोल गरेकी थिइन्।
यस्तै, ३८औं मिनेटमामा भियतनामले ३–०को अग्रता लियो। नुयन थि विच थुयले प्रहार गरेको बलमा अमृता जैशीले आत्मघाती गोल गरेकी थिइन्।
४८औं मिनेटमा होङ थि लोनको पासमा कप्तान नुले भियतनामलाई ४–०को सहज अवस्थामा ल्याइन्। ८०औं मिनेटमा सावित्राले सरु लिम्बूको पासमा गोल गर्र्दै अग्रता घटाउने प्रयास गरिन् । तर, ९०औं मिनेटमा नुयेन थि थान नाले गोल गरेपछि भियतनामले ५–१को जित निकाल्यो।
२ टिममात्र सहभागी ओलम्पिक छनोटको दोस्रो खेल २५ गते दशरथ रंगशालामै हुनेछ।











