मालपोत कार्यालय साँखुका नायव सुब्बा र लेखापढी व्यवसायीविरूद्ध मुद्दा दायर
काठमाडौं, माघ ८ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंस्थित मालपोत कार्यालय साँखुका नायव सुब्बा रामेश्वर कुईकेल र लेखापढी व्यवसायी श्रीराम सापक....

काठमाडौं, माघ ८ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंस्थित मालपोत कार्यालय साँखुका नायव सुब्बा रामेश्वर कुईकेल र लेखापढी व्यवसायी श्रीराम सापकोटाविरूद्ध विषेश अदालतमा मुद्दा दायर गरेको छ । कुईकेलले सापकोटासँग दृष्टी बन्दकको लिखत पास गरे बापत ५५ हजार घुस लिएका थिए।
अनुसन्धानको सिलसिलामा नायब सुब्बा कुईकेलले लेखापढी व्यवसायी सापकोटासँग घुस÷रिसवत माग गरी लिइसकेको अवस्थामा रकम बरामद भएको अभियोगपत्रमा उल्लेख छ । दुवै जनालाई अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) दफा ३(१ ग) अनुसारको कसुर गरेको पुष्टि भएको भन्दै अदालतमा मुद्दा दायर गरेको हो ।
घुस दिनेविरूद्ध भ्रष्टाचार मुद्दा
प्रहरीलाई खुस दिन खोज्ने विरूद्ध नै अख्तियारले मुद्दा दायर गरेको छ । बीरगन्ज महानगरपालिका– २ छपकैयाकी अम्बेया खातुनले प्रहरीलाई २८ हजार घुस दिन खोज्दा पक्राउ गरेको थियो । जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित ईलाका प्रहरी कार्यालयको कार्यालय भवन अगाडी चेकजाँचका क्रममा वीरगन्जबाट हेटौडातर्फ जाँदै गरेको भाडाको बसमा भन्सार छलेर उनले ल्याउँदै गरेको लत्ताकपडा नियन्त्रणमा लिएको थियो।
सो सामान छुटाइदिनुका साथै आगामी दिनमा पनि सहजीकरण गरिदिने भन्दै उनले प्रहरी कर्मचारीलाई घुस बापत २८ हजार दिन खोजेकी थिइन् । प्रहरीले खुस दिएको भन्दै तत्काल नियन्त्रणमा लिएर अख्तियारलाई बुझाएको थियो । सो रकम जफत गरी विगो र जरिवानासमेत माग गरी अख्तियारले विषेश अदालतमा मुद्दा दायर गरेको छ।











