ओलम्पिक छनोटमा भियतनामसँग खेल्दै नेपाली महिला टिम
पहिलो पटक विश्वकप खेल्न लागेको भियतनामविरुद्ध खेल्न नेपाली टिमलाई त्यति सहज हुनेछैन । फिफा वरीयतामा भियतनाम ३३औं र नेपाल १००औं स्थानमा छ।
काठमाडौं, चैत २२ : पेरिस ओलम्पिकअन्तर्गत महिला फुटबलको पहिलो चरणको छनोटमा नेपालले आज भियतनामको सामाना गर्दैछ।
ओलम्पिक फुटबलको एसिया छनोटको पहिलो चरणको खेल साँझ ६ बजे त्रिपुरेश्वरस्ति दशरथ रंगशालामा हुनेछ।
छनोटको समूह सीबाट प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि यो समूहमा नेपाल र भियतनाम मात्र छन्। यी दुईले २ खेल खेल्ने छन्।
पहिलो पटक विश्वकप खेल्न लागेको भियतनामविरुद्ध खेल्न नेपाली टिमलाई त्यति सहज हुनेछैन । फिफा वरीयतामा भियतनाम ३३औं र नेपाल १००औं स्थानमा छ।
घरेलु मैदानको साथ र घरेलु दर्शकको अगाडि बलियो भियतनामविरुद्ध सुखद नतिजा ल्याउने लक्ष्यमा नेपाल छ।
प्रतियोगिताअघि आयोजित प्रिम्याच कन्फ्रेन्समा पनि नेपाली टिमका मुख्य प्रशिक्षक अनन्त थापाले यस्तै धारणा व्यक्त गरे। थापाले भियतनाम बलियो विपक्षी भएपनि राम्रो नतिजा ल्याउने बताए। उनले बलियो टिमसँग खेल्दा नेपाललाई फाइदा हुने र नेपाली खेलाडीका लागि आफूलाई प्रमाणित गर्ने अवसर भएको पनि बताए।
त्यस्तै नेपाली टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले वरियतामा भियतनाम नेपालभन्दा माथि भएपनि जीतको लक्ष्यका साथ खेल प्रदर्शन गर्ने बताइन्। ओलम्पिक छनोटमा हामीले बलियो भनिएको म्यानमारलाई बराबरीमा रोकेको बताउँदै उनले आफूहरु भोलि पनि जित्नैका लागि मैदान उत्रने बताइन्।
नेपालले दोश्रो खेलमा चैत्र २५ गते भियतनामसँग प्रतिस्पर्धा गर्नेछ। छनोटको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउने छन् ।











