भियतनामसँग खेल्न नेपाली टिम तयार
प्रतियोगिताअघि आयोजित प्रिम्याच कन्फ्रेन्समा दुवै देशका प्रशिक्षक एवं कप्तानले उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यका साथ मैदान उत्रने बताए।
काठमाडौं, चैत २१ : पेरिस ओलम्पिकअन्तर्गत महिला फुटबलको एसिया छनोटको पहिलो चरणको खेल बुधबारबाट काठमाडौंमा सुरु हुँदैछ ।
प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि छनोटमा नेपाल र भियतनामले मात्र खेल्नेछन्। पहिलो खेल बुधबार दशरथ रंगशालामा साँझ ६ बजे हुनेछ।
प्रतियोगिताअघि आयोजित प्रिम्याच कन्फ्रेन्समा दुवै देशका प्रशिक्षक एवं कप्तानले उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यका साथ मैदान उत्रने बताए।
मंगलबार एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको प्रिम्याच कन्फ्रेन्समा नेपाली टिमका प्रशिक्षक अनन्त थापाले भियतनाम बलियो विपक्षी भएपनि राम्रो नतिजा ल्याउने बताउनुभयो । उनले बलियो टिमसँग खेल्दा नेपाललाई फाइदा हुने र नेपाली खेलाडीका लागि आफूलाई प्रमाणित गर्ने अवसर भएको पनि बताए।
‘विश्वकप खेल्न लागेको भियतनाम बलियो विपक्षी हो । तर, हामीसँग उच्चस्तरका खेलाडीहरु छन् र हामीले एक महिनादेखि विशेष तयारी गरिरहेका छौं । हामी भोलि राम्रो नतिजा ल्याउनेछौं,’ प्रशिक्षक थापाले भने।
त्यस्तै नेपाली टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले वरियतामा भियतनाम नेपालभन्दा माथि भएपनि जीतको लक्ष्यका साथ खेल प्रदर्शन गर्ने बताइन्। ओलम्पिक छनोटमा हामीले बलियो भनिएको म्यानमारलाई बराबरीमा रोकेको बताउँदै उनले आफूहरु भोलि पनि जित्नैका लागि मैदान उत्रने बताइन्।
त्यस्तै भियतनामका प्रशिक्षक तथा कप्तानले नेपाल आफ्ना लागि बलियो प्रतिष्पर्धी रहेकाले खेलमा कुनै कमजोरी नगर्ने बताए ।
नेपालले दोश्रो खेलमा चैत्र २५ गते भियतनामसँग प्रतिस्पर्धा गर्नेछ । छनोटको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउने छन् ।











