प्रधानमन्त्री निकट व्यक्ति सूचिमा नपर्दा पर्यटन बोर्डको सीईओ छनोट अन्योल
काठमाडौं, माघ ७ : प्रधानमन्त्री केपी शर्मा ओली निकट व्यक्ति ‘सिफारिस सूचि’मा नपरेपछि नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छ....

काठमाडौं, माघ ७ : प्रधानमन्त्री केपी शर्मा ओली निकट व्यक्ति ‘सिफारिस सूचि’मा नपरेपछि नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट प्रक्रिया अन्योलनमा परेको छ। सीईओ छनोट समितिको बैठक नै बस्न सकेको छैन।
सर्टलिस्टमा परेकामध्ये सीईओ छनोटका लागि आइतबार समितिको बैठक बोलाइएको थियो। तर, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव एवं बोर्डका अध्यक्ष केदारबहादुर अधिकारी उपस्थित भएनन्। कार्य व्यवस्तताले उपस्थित नभएको भन्दै बैठक सोमबारका लागि सारिएको थियो।
सोमबार पनि समितिको बैठक बस्न सकेन्। बोर्ड सदस्य कृष्णबहादुर महाराका अनुसार बोर्डका अध्यक्ष अधिकारी उपस्थित नभएपछि बैठक स्थगित गरिएको छ। अर्को सूचना प्रकाशन नभएसम्मका लागि भन्दै बैठक स्थगित गरिएको छ।
मन्त्रालयले गठन गरेको सीईओ छनोट समितिका सदस्य समेत रहेका महराले कार्यविधि मिचेर बाहिरबाट सीईओ छनोटको तयारी गरिएको आरोप लगाए। उनले फेसबुकमा स्टाटस् लेख्दै सिफारिस सूचिमा परेका तीन जनाको विषयमा छलफल नै नगरि व्यक्तिको घरघरमा गएर छलफल गरिएको जनाएका छन्। राजनीति घुसेकै कारण अन्तिम चरणमा पुगेको सीईओ छनोट प्रक्रिया नै रोकिएको उनको भनाइ छ।
गत शुक्रबार सीईओ छनोट उपसमितिले बोर्ड सञ्चालन समितिलाई तीन जनाको नाम सिफारिस गरेको थियो। छनोट उपसमितिले सिफारिस गरेको नाममा प्रधानमन्त्री ओली निकट व्यवसायी तथा नेपाल भ्रमण वर्षका सदस्य सचिव बच्चुनारायण श्रेष्ठको नाम नपरेपछि छनोट प्रक्रिया अन्योलमा परेको मन्त्रालय स्रोतको भनाइ छ।
उनको नाम नपरेपछि सिफारिस सूचिमा हेरफेर गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिएको स्रोतको दाबी छ। मन्त्रालय स्रोतका अनुसार, प्रधानमन्त्री ओलीले बोर्डका अध्यक्ष अधिकारीलाई पाँच जनाको नाम सिफारिस गर्न निर्देशन दिएका छन्। जसले गर्दा छनोट समितिको बैठक बस्न नसकेको जनाएको छ।
तत्कालीन सीईओ दीपकराज जोशीको कार्यकाल सकिएपछि नयाँ सीईओ नियुक्तीको प्रक्रिया सुरू भएको थियो। सीईओका लागि १७ जनाले आवेदन दिएका थिए।
त्यसमध्ये छनोट उपसमितिले ‘सर्टलिस्ट’मा नौ जनाको छनोट गरेको थियो। शुक्रबार बसेको उपसमितिको बैठकले तीन जनाको नाम सिफारिस गरेको हो। जसमा धनञ्जय रेग्मी, हिक्मतसिंह ऐर र दीपक बाँस्कोटा रहेका छन्।











