Kathmandu Press

महानगरको सहयोगमा छाउनीमा हेमोडाईलासिस सेवा सुरू

काठमाडौं, माघ ७ : काठमाडौं महानगरपालिका र नेपाली सेनाबीच स्वास्थ्य सेवा प्रवाह गर्ने सम्बन्धको सम्झौता–पत्रमा हस्ताक्षर भएको एक महिनापछि हेमोडाइ....

महानगरको सहयोगमा छाउनीमा हेमोडाईलासिस सेवा सुरू

काठमाडौं, माघ ७ : काठमाडौं महानगरपालिका र नेपाली सेनाबीच स्वास्थ्य सेवा प्रवाह गर्ने सम्बन्धको सम्झौता–पत्रमा हस्ताक्षर भएको एक महिनापछि हेमोडाइलासिस सेवा सुरू भएको छ। 

मंगलबार मेयर विद्यासुन्दर शाक्यले वीरेन्द्र अस्पताल छाउनीमा काठमाडौं–१५ डल्लुकी ६२ वर्षीया चन्द्रादेवी महर्जनको उपचारका लागि हेमोडाइलोसिस मेसिन खोलेर सेवाको सुरुआत गरेका छन्। पुस २ गते हेमोडाइलासिस सेवाका लागि आवश्यक मेसिन, भौतिक पूर्वाधार र  जनशक्ति थप गर्नका लागि तीन करोड सहयोग गर्ने सम्झौता भएको थियो।

सोही सम्झौताअनुसार, मंगलबारदेखि हेमोडाइलासिस सेवाको सुरुआत गरिएको हो। सेवाको सुभारम्भ गर्दै मेयर शाक्यले महानगरपालिकाले सर्वसाधारणको स्वास्थ्य सेवाका लागि सहयोग गर्न पाउँदा खुशी लागेको बताए।

उनले महानगरपालिकाकै सहयोगमा एम्बुलेन्स सेवासँग सहकार्य गरी एम्बुलेन्स सेवा सञ्चालन गरेको उल्लेख गर्दै आगामी दिनमा स्वास्थ्य सेवाका लागि महानगरपालिकाले थप सहयोग गर्ने बताए। ‘बिरामी भएपछि उपचार गर्नका लागि मात्रै होइन, विरामी हुनुभन्दा अघि नै गरिने स्वास्थ्य सेवाका लागि पनि सहयोग गर्न महानगर तयार छ,’ मेयर शाक्यले भने,  ‘अस्पतालबाट गरिब र निमुखा जनताले सरल सेवा प्राप्त गर्ने वातावरण तपाईँहरुले बनाउनुहोला, अरु सहयोग चाहियो भने पनि गर्न तयार छु।’  

हेमोडाइलासिस सेवा लिन सुरू गरेकी महर्जनले खुशी व्यक्त गरिन्। ‘बिरामीको उपचारका लागि महानगरपालिकाले गरेको यो सहयोगले आभारी छु,’ महर्जनले भनिन्, ‘सेवा विस्तारका लागि महानगरपालिकाले अझै थप सहयोग गरोस्, हामीजस्ता बिरामीलाई धेरै राहत हुनेछ।’

सम्झौताअनुसार, नै नेपाली सेनाअन्तर्गतको श्री वीरेन्द्र अस्पताल, छाउनीमा उपलब्ध स्रोत साधनबाटै पहिलो चरणमा चार जनालाई सेवा दिने अस्पतालले जानकारी दिएको छ। जनशक्ति र उपकरण थप गरी सिफ्ट पनि थप भएपछि प्रति दिन ९ देखि १२ जनासम्म बिरामीको लागि हेमोडाइलासिस सेवा प्रदान गरिने जनाएको छ।

सम्झौतापत्रमा उल्लेख भएअनुसार, नै भौतिक पूर्वाधारलगायतका स्रोत साधन अभिबृद्धि भएपछि सेवा विस्तार गर्दै लगिने जनाएको छ। बिरामीले हेमोडाईलासिस सेवा लिनका लागि महानगरको शहरी स्वास्थ्य महाशाखाबाट सिफारिश लिग्नुपर्नेछ।  

यस अघि पनि महानगरले अक्सिजन प्लान्ट जडानका लागि कान्तिबाल अस्पताललाई दुई करोड दिने सम्झौता गरेको थियो।

प्रकाशित मिति: १४:२० बजे, मंगलबार, माघ ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्