निसास्सिएर मृत्यु भएका आठ भारतीय पर्यटकको सनाखत
हेटौंडा, माघ ७ : मकवानपुरको थाहा नगरपालिका–४ दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टमा मृत्यु भएका आठ भारतीय पर्यटकको सनाखत भएको छ।
गए....

हेटौंडा, माघ ७ : मकवानपुरको थाहा नगरपालिका–४ दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टमा मृत्यु भएका आठ भारतीय पर्यटकको सनाखत भएको छ।
गएराति रिसोर्टका कोठामा बसेका पर्यटक हिटर बालेर सुतेका थिए। जसले गर्दा निसास्सिएर मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले मृत्यु हुनेमा भारत केरलाका ३८ वर्षीय रन्जित कप, ३४ वर्षीय इन्द्र कप, ३७ वर्षीय प्रवीण, ३२ वर्षीया सरिया, पाँच वर्षीय अभी, सात वर्षीया अर्चना, पाँच वर्षीय बैशनव र नौ वर्षीया बन्द्रा रहेका बताए।
नेपाल घुम्न आएका १५ पर्यटकमध्ये आठको मृत्यु भएको हो। उनीहरु रिसोर्टको १०१ नम्बर कोठामा बास बसेका थिए।
एउटै कोठामा आठ जना सुतेका उनीहरू आज बिहान बेहोस अवस्थामा फेला परेका थिए। उनीहरुलाई उपचारका हेलिकप्टरबाट काठमाडौँको ह्याम्स् अस्पताल लगिएको थियो। पाँच जनाको उपचारका क्रममा मृत्यु भएको थियो भने तीन जनालाई अस्पताल पुर्याउँदा मृत घोषणा गरिएको थियो।
पोखराबाट सोमबार साँझ उनीहरू एभरेस्ट पानोरमा रिसोर्टमा बास बस्न आएको पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ।











