ओली-मोदीद्वारा भिडियो कन्फेरेन्सिङमार्फत विराटनगरको आईसीपी उद्घाटन
काठमाडौं, माघ ७ : भिडियो कन्फेरेन्सिङमार्फत प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विराटनगरको जोगवनीनाकास्थित एकीकृत जाँच....

काठमाडौं, माघ ७ : भिडियो कन्फेरेन्सिङमार्फत प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विराटनगरको जोगवनीनाकास्थित एकीकृत जाँच चौकी (आईसीपी) र २०७२ को भूकम्पमा परेर भत्केका घरहरुको पुनःनिर्माण परियोजनाको उद्घाटन गरेका छन्।
प्रधानमन्त्री ओलीले बालुवाटारस्थित निवासबाट र मोदीले नयाँदिल्लीस्थित हैदरावाद हाउसको आफ्नो कार्यालयबाट एकैपटक स्वीच थिचेर उद्घाटन गरेका हुन्। विराटनगरस्थित आईसीपी र गोरखा तथा नुवाकोटको ‘निजी आवास पुर्ननिर्माण परियोजना’ परियोजनामा भारतीय सहयोगमा निर्माण भएका हुन्।
परियोजना उद्घाटन गर्दै भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री ओलीलाई स्वास्थ्य लाभको कामना गरेका छन्। उनले नेपाली बोल्दै भने, ‘तपाईहरू सबैलाई धेरैधेरै शुभकामना दिन्छु। भेरि भेट होला, नमस्कार।’
प्रधानमन्त्री ओलीले पनि सहयोगका लागि भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद दिएका छन्।
यसअघि पनि असोजमा ६८ किमि लामो मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको भिडियो कन्फेरेन्सिङमार्फत नै गरिएको थियो।
गोरखा र नुवाकोटमा सम्पन्न आवास परियोजनाका लागि भारतले करिब १० अर्ब रुपैयाँ सहयोग गरेको हो। २०७२ मा गएको भूकम्पपछि भारतले पुनर्निर्माणका लागि नेपाललाई एक अर्ब डलर दिने घोषणा गरेको थियो। त्यसमध्ये, २५ करोड डलर अनुदान र बाँकी ७५ करोड डलर भारतीय एक्जिम बैंकमार्फत सहुलियतपूर्ण ऋण थियो। त्यही अनुदानबाट गोरखा र नुवाकोटका ५० हजार निजी घरको पुनर्निर्माण गरिएको जनाएको छ।
त्यस्तै, भारतको दुई अर्ब सहयोगमा विराटनगरस्थित आईसीपी निर्माण भएको हो। यस अघि भारतकै सहयोगमा वीरगञ्जमा दुई वर्षअघि आईसीपी निर्माण गरिएको थियो।
सन् २००२ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा दुई मुलुकबीचको व्यापारलाई सहज बनाउन प्रमुख नाकाहरुमा आईसीपी बनाउने समझदारी भएको थियो। अब भैरहवा र नेपालगञ्जमा आईसीपी निर्माण गरिने जनाएको छ।











