Kathmandu Press

ललितपुर मेयर कप : एपीएफ क्लब अपराजित रहँदै फाइनलमा

एपीएफ क्लबले लिग चरणको अन्तिम खेलमा आज आयोजक ललितपुर मेयर्सलाई ३७ रनले पराजित गरेको हो। खेलमा एपीएफका लागि राजमती ऐरीको उत्कृष्ट खेल प्रदर्शन गरिन्। उनी ‘प्लेयर अफ द म्याच’ घोषित भइन्।  
ललितपुर मेयर कप : एपीएफ क्लब अपराजित रहँदै फाइनलमा

काठमाडाैं, चैत १४ : सशस्त्र प्रहरी बलको एपीएफ क्लब लिग चरणका खेलमा अपराजित रहँदै यहाँ जारी ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

एपीएफ क्लबले लिग चरणको अन्तिम खेलमा आज आयोजक ललितपुर मेयर्सलाई ३७ रनले पराजित गरेको हो। खेलमा एपीएफका लागि राजमती ऐरीको उत्कृष्ट खेल प्रदर्शन गरिन्। उनी ‘प्लेयर अफ द म्याच’ घोषित भइन्।  

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर एपीएफ क्लबले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा छ विकेट गुमाएर एक सय १० रन बनाएको थियो। एक सय ११ रनको लक्ष्य पछ्याएको ललितपुर मेयर्सले २० ओभरमा आठ विकेट गुमाउँदै ७३ रन मात्र बनाउन सक्यो। 

एपीएफका लागि राजमती ऐरीले अविजित ४१, कप्तान सीता राना मगरले १९ र बिनु बुढाले १२ रन बनाइन्। बलिङतर्फ ललितपुर मेयर्सकी सिमाना केसी र सृष्टी जैसीले दुई÷दुई तथा सोनी पाख्रीन र मनिषा उपाध्यायले एक÷एक विकेट लिइन्।

ललितपुर मेयर्सका लागि ब्याटिङ गर्दै सोनी पाख्रीनले १५ तथा लक्ष्मी चौधरी र सिमाना केसीले १०÷१० रनको योगदान दिए। बलिङतर्फ एपीएफ क्लबकी राजमती ऐरी र बिनु बुढाले दुई÷दुई तथा इन्दु बर्मा, सीता राना मगर र शुष्मा श्रेष्ठले एक÷एक विकेट लिन सफल भए। 

एपीएफ क्लब लिग चरणका चारवटै खेल जितेर अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ। उसले लिग चरणको एक खेल अगावै उपाधि भिडन्त पक्का गरेको थियो। आयोजक ललितपुर मेयर्स लिग चरणका चारवटै खेलमा जितबिहीन रह्यो। 

ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत केहीबेरमा कीर्तिपुरस्थित मैदानमा अर्को खेल मधेस प्रदेश र कोशी प्रदेशबीच हुँदैछ।  

प्रकाशित मिति: १३:२६ बजे, मंगलबार, चैत १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्