राष्ट्रियसभा निर्वाचनको मौन अवधि शुरु, के के गर्न पाइँदैन ?
काठमाडौं, माघ ७ : राष्ट्रियसभा सदस्यको माघ ९ गते बिहीबार हुने निर्वाचनको सोमबार राति १२ बजेदेखि मौन अवधि शुरु भएको छ । निर्वाचन आचारसंहिता बमोजिम ४८ घ....

काठमाडौं, माघ ७ : राष्ट्रियसभा सदस्यको माघ ९ गते बिहीबार हुने निर्वाचनको सोमबार राति १२ बजेदेखि मौन अवधि शुरु भएको छ । निर्वाचन आचारसंहिता बमोजिम ४८ घण्टा अगाडी अर्थात माघ ६ गते सोमबार राति १२ बजेदेखि मौन अवधि शुरु भएको आयोगले जनाएको छ ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवं विश्वसनीय रूपमा सम्पन्न गर्न गराउन मौन अवधि र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न गराउन नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह लगायत सरोकारवालाको ध्यानाकर्षण गराइएको छ । सातवटा प्रदेशका उच्च अदालत रहेका जिल्ला मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा निर्वाचन केन्द्र कायम गरिएको छ ।
मौन अवधिमा कुनै पनि सञ्चार माध्यमबाट निर्वाचन प्रचारप्रसार कार्य गर्न गराउन पाइने छैन । आयोगका सहसचिव राजकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “मौन अवधिमा आफ्ना वेबसाइट, ट्वीटर, फेसबुक, भाइबर वा एसएमएस जस्ता सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरी मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न निषेध गरिएको छ ।” मौन अवधिमा निर्वाचन, मतदाता र मतदान कार्यलाई प्रभाव पार्ने गरी वा त्यस्तो उद्देश्य लिई छलफल, गोष्ठी, सेमीनार, अन्तरक्रिया, मतदाता शिक्षा, पत्रकार भेटघाट वा यस्तै प्रकृतिका कुनै पनि कार्य गर्न गराउन पाइने छैन ।
यसैबीच निर्वाचन आयोगले मतदाता परिचयपत्र हराएमा वा नष्ट भएमा नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रको आधारमा निर्वाचक मण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाइ यकिन गरी मतदान गर्न पाउने व्यवस्था गरेको छ ।











