उड्ने कार बनाउन बोइङ, एयरबसदेखि मोटर कम्पनी डेम्लर र टोयोटाबीच प्रतिस्पर्धा
बिजुलीबाट चल्ने विमान बनाउन प्रयासरत लिलियम नामक कम्पनीका ३४ वर्षीय कार्यकारी प्रमुख तथा संस्थापक ड्यानियल विगान्ड यो विश्वकै पहिलो उड्ने ट्याक्सी बन्न सक्ने सम्भावना ....
बिजुलीबाट चल्ने विमान बनाउन प्रयासरत लिलियम नामक कम्पनीका ३४ वर्षीय कार्यकारी प्रमुख तथा संस्थापक ड्यानियल विगान्ड यो विश्वकै पहिलो उड्ने ट्याक्सी बन्न सक्ने सम्भावना देख्छन्। म्युनिखदेखि करिब २० माइल टाढा एउटा ह्याङ्गरमा उड्ने ट्याक्सीको प्रोटोटाइप छ।
यस्तो विमान बनाउन कति लाग्यो होला भनेर सोध्दा विगान्ड भन्छन्,“दशौं लाख।” आउने पाँच वर्षभित्र यस्ता ट्याक्सीले म्यानह्याटनदेखि केन्नेडी इन्टरनेश्नल एयरपोर्टसम्म १० मिनेटको यात्रा ७० डलर शुल्कमा गराउने उनले वाचा गरेका छन्।
“यो यातायातको उपयुक्त साधन हो। जहाँ पनि अवतरण हुन्छ। जहाँबाट पनि उड्न सक्छ,” उनी भन्छन्, “यो एकदमै छिटो, एकदमै भरपर्दो छ। हल्ला पनि धेरै कम छ।”
आउने वर्षहरूमा उड्ने ट्याक्सी यथार्थ हुने अपेक्षा बढ्दै गएको छ। लिलियमजस्ता कम्पनीहरूले परीक्षण गरिरहेका छन्। यस्ता ट्याक्सीहरू ठूलो परिमाणमा उत्पादन गर्ने र सरकारी अधिकारीको समर्थन लिनेबारे छलफल सुरू गरेका छन्।
बजारमा अहिले कम्तिमा २० वटा कम्पनीहरू छन्। मोर्गन स्ट्यान्लीको अनुमान अनुसार सन् २०४० सम्म बजारको मुल्य ८५ करोड पुग्नेछ। गुगलका सहसंस्थापक तथा अर्बपति ल्यारी पेजले गुगलको पहिलो स्वचालित कारका इन्जिनियरले सञ्चालन गरेको किट्टी हकमा लगानी गरेका छन्।
बोइङ र एयरबसले आफ्नै परियोजना थाल्दैछन्। डेम्लर, टोयोटा र पोर्स लगायतका गाडी निर्माताहरू पनि यो क्षेत्रमा लगानी गर्दैछन्। उबरले पनि हवाई ट्याक्सी सेवा विकास गरिरहेको छ। सन् २०२३ देखि अमेरिकाको लस एन्जलस, डल्लास र अष्ट्रेलियाको मेलबर्नमा सेवा सुरू गर्ने उबरको योजना छ।
तर आउने वर्षमा म्यानह्याटनमाथि ती विमानहरू उडाउनु सजिलो छैन। सुलभ लागतमा बलियो र टिकाउ जेट बनाउनु इन्जिनीयर र प्राविधिकका लागि चुनौतीको विषय हो। त्यसमाथि फेडेरल एभियसन एडमिनिस्ट्रेसन लगायतका नियामक निकायको लामो प्रक्रिया पनि छ। हवाई ट्याक्सीको सुरक्षासम्बन्धी चासो उत्तिकै छ।
“के हामी सर्वसुलभ सेवा निर्माण गर्नसक्छौं? अनि जमिनमा भएका मानिसहरूलाई कुनै बाधा नपुग्ने गरी शान्त विमान बनाउन सक्छौं? यो महत्वपूर्ण प्रश्न हो,” किट्टी हकका प्रमुख कार्यकारी सेबास्टियन थ्रुनले भने।
लिलियमले लगानीकर्ताबाट १० करोड डलर उठाएको छ। विगान्डले देखाएको विमान उड्ने कारजस्तै देखिन्छ। विमानमा कार्बन फाइबरको बडी र ३६ फुट लामा पखेटा छन्।
विकास भइरहेका अन्य थुप्रै उड्ने ट्याक्सीजस्तै यो पनि ब्याट्रीबाट चल्छ। एक पटक चार्ज भएपछि यो एक सय ९६ माइल चल्नसक्छ र प्रति घण्टा झण्डै एक सय ९० माइलको गति लिनसक्छ। अण्डाकार क्याबिन चार जना यात्रु र एक जना पाइलट बस्न मिल्ने गरी बनाइएको छ।
पखेटा घुम्ने भएकाले विमान हेलिकप्टरजस्तै सिधा उड्न र अवतरण गर्न सकिन्छ। तर यसले हेलिकप्टरभन्दा कम हल्ला गर्छ। त्यसैले विमानहरू निषेध क्षेत्रमा पनि यो अवतरण गर्ने सम्भावना छ।
विमानको लागत घट्न सक्ने विगान्ड बताउँछन्। थोरै पाटपुर्जा भएकाले मर्मतसम्भार खर्च पनि कम छ। त्यसैले उबर वा ट्याक्सी चढे जत्ति नै हवाई ट्याक्सीको मुल्य हुने उनको अनुमान छ। बीमा कम्पनीहरूले जोखिमको जिम्मा लिने बताएको उनले खुलाए।
यो अवधारणा सफल भए यी जेटहरूले शहरी यातायात रूपान्तरण गर्ने उनले बताए। लिलियमको एपबाटै ग्राहकले साना विमानस्थलको सञ्जालबाट उडान बुकिङ गर्न सक्नेछन्। तीव्र गतिका रेल सेवा नभएको क्यालिफोर्निया वा दक्षिण जर्मनीमा यो जेटले यातायातलाई निकै सजिलो बनाउनेछ।
उबरको हवाई ट्याक्सी परियोजनाका प्रमुख एरिक एलिसनले स्वचालित सवारी साधनभन्दा कम जटिल प्राविधिक बाधा भएको बताए। हवाई ट्राफिक पनि कम छ र पहिलो पुस्ताका विमानमा पाइलट पनि हुनेछन्। तर कम्पनीले व्यवसायिक उडानका लागि सरकारी प्रमाणीकरण नभएको बताए।
तर पार गर्नुपर्ने अन्य थुप्रै बाधाहरू पनि छन्। ब्याट्रीको आयु सीमित भएकाले विमानहरू धेरै टाढा उड्न सक्दैनन्। ठूलो परिमाणमा उत्पादन सुरू गर्नु र प्रोटोटाइप बनाउनु भिन्न कुरा हुन्। त्यसमाथि विमानको मुल्य, सञ्चालन लागत निकै कम हुनुपर्छ नभए ग्राहकका लागि महँगो हुन जान्छ।