Kathmandu Press

१९ वर्षमै विश्वकप चुम्ने एम्बाप्पेको नजर अब च्याम्पियन्स लिगमा  

काठमाडौं, फागुन ४ : गएको विश्वकपमा फ्रान्स र अर्जेन्टिनाबीचको खेल प्रतियोगिताकै सबैभन्दा रोमाञ्चक प्रतिष्पर्धा थियो । तर, त्यो खेलका स्टार खेलाडी पाँच....

१९ वर्षमै विश्वकप चुम्ने एम्बाप्पेको नजर अब च्याम्पियन्स लिगमा  
गोल डट कम

काठमाडौं, फागुन ४ : गएको विश्वकपमा फ्रान्स र अर्जेन्टिनाबीचको खेल प्रतियोगिताकै सबैभन्दा रोमाञ्चक प्रतिष्पर्धा थियो । तर, त्यो खेलका स्टार खेलाडी पाँच पटक बेलुँ डिओर जितेका लियोनल मेस्सी थिएनन्,  १९ वर्षीय किलियन एम्बाप्पे थिए, जसको नाउँ विश्वकपअघि धेरैले सुनेकै थिएनन् । 

त्यो खेलमा एम्बाप्पेको अद्भुत प्रदर्शन फुटबल पारखीहरूको मानसपटलबाट सायदै मेटिएला । एम्बाप्पेकै कारण फ्रान्सले अर्जेन्टिनालाई ४–३ गोलले हरायो । एम्बाप्पे आफैले दुई गोल गरे । 

तर, एम्बाप्पे अचानक विश्व फुटबल मञ्चमा उदाएका थिएनन् । त्यसका लागि उनले सानै छँदादेखि कडा मेहनत गरेका थिए । ‘मलाई सानैदेखि थाहा थियो, म के गर्न चाहन्छु, म कहाँ जान चाहन्छु,’ सन् २०१७ मा एक अन्तर्वार्तामा एम्बाप्पेले भनेका थिए ।

एम्बाप्पे साधारण परिवारबाट आएका हुन् । आमा फैजा ह्यान्डबल खेलाडी थिइन् । बुवा आफैं पनि फुटबलका प्रशिक्षक र एजेन्ट थिए । फ्रान्सको राजधानी पेरिस बाहिरको गाउँ बोँदीमा उनको बाल्यकाल बित्यो ।

‘आमा सधैं भन्नुहुन्थ्यो – ठूलो खेलाडी हुनुअघि ठूलो मान्छे बन्नुपर्छ,’ एम्बाप्पेले टाइम पत्रिकालाई सन् २०१८ मा भनेका थिए । ‘ठूला स्टार र महान खेलाडी सबैभन्दा विनम्र हुन्छन्, अरूलाई बढी सम्मान दिन्छन् भन्ने सिकेको छु ।’ 

६ वर्षकै उमेरमा स्थानीय क्लब एएस बोँदीमा आबद्ध एम्बाप्पेका आइडल थिए, क्रिस्चियानो रोनाल्डो । एम्बाप्पे १४ वर्षका हुँदा उनको कोठा पाँचपटकका बेलुँ डिओर विजेता रोनाल्डोका तस्वीरले भरिएको संसारभरका फुटबलप्रेमीले देखिसकेका छन् ।

रोनाल्डोलाई भेट्नु धेरैको सपना हुन्छ । तर एम्बाप्पे भने रोनाल्डोसँग भेट्नमात्रै हैन, प्रतिस्पर्धा गर्न चाहन्थे ।

सानै उमेरमा एम्बाप्पेको चर्चा पेरिसमा हुन थालेको थियो । फ्रान्सको क्लेयरफोन्टेनस्थित राष्ट्रिय फुटबल केन्द्रबाट उनलाई निम्तो आयो । युरोपका शीर्ष क्लबहरू उनलाई भित्र्याउन मरिहत्ते गरिरहेका थिए । उनी रियल म्याड्रिड, बायर्न म्युनिख वा चेल्सी जानसक्थे, तर मोनाको गए ।

‘एम्बाप्पेलाई मैले टुलुज र मोनाको विरूद्ध भएको खेलमा पहिलो पटक भेटेको हुँ । उनी त्यसबेला मात्रै १६ वर्षका थिए,’ वेस्ट ह्याम युनाइटेडका पूर्व टुलुज डिफेन्डर इस्सा डियोपले भने । ‘त्यो भेटले मेरो मनमा एउटा प्रश्न उब्जाएको थियो–को हुन् यी फेनोमेनोन ?’

डियोप भन्छन्, ‘त्यतिबेला उनी तीव्र थिए, अहिले झन् तीव्र  गतिमा खेल्छन् ।’

डिसेम्बर २, २०१५ मा कान विरूद्ध सब्स्टिच्युटका रूपमा सिनियर डेब्यु गर्दा उनी १६ वर्षका थिए । १७ वर्ष पुग्न १८ दिन बाँकी थियो । योसँगै एम्बाप्पेले थियरी अनरीको क्लब रेकर्ड तोडे ।
सन् २०१५–१६ मा पहिलो टिमबाट १४ पटक खेलेपछि, एम्बाप्पेलाई अन्डर–नाइन्टिन युरोपिन च्याम्पियनशीप का लागि फ्रान्सेली टोलीमा बोलाइयो । त्यसपछि डियोपले एम्बाप्पेलाई झन् नजिकबाट बुझ्ने मौका पाए ।

डियोप भन्छन्, ‘मैदानमा एम्बाप्पे निकै गम्भीर देखिन्छन्, तर उनलाई ड्रेसिङ रुममा ठट्टा गर्न मन लाग्छ ।’

सन् २०१७ सम्म एम्बाप्पे मोनाकोभन्दा माथि पुगिसकेका थिए । उनी पेरिस फर्किए । एक सय ८० मिलियन युरोमा पिएसजि पुगे । त्यही साल दुई सय २२ मिलियन युरोमा नेइमार पिएसजि नपुगेका भए उनले विश्वकै महङ्गा फुटबलरको कीर्ति पनि कमाउँथे । 

एम्बाप्पले मोनोकोबाट एकपटक र पिएसजिबाट एकपटक गरी दुईपटक फ्रान्सको घरेलु लिग जितिसकेका छन् ।  विश्वकप पनि चुमिसकेका छन् । अब उनको नजर च्याम्पियन्स लिगमा छ । पिएसजिका मुख्य प्रशिक्षक थोसम टुखेल एम्बाप्पेको लक्ष्य पूरा हुनेमा ढुक्क छन् ।

यो साता च्याम्पियन्स लिगको अन्तिम १६ मा पिएसजि र म्यानचेस्टर युनाइटेडबीच  प्रतिष्पर्धा हुँदा एम्बाप्पे नै नायक बने । हुन त पिएसजिका स्टार खेलाडी हुन्, नेइमार । तर, चोटका कारण नेइमार १० साताका लागि मैदानबाहिर छन् । 

नेइमारको अनुपस्थितिमा काभानी र एम्बाप्पेकै काँधमा पिएसजिलाई जिताउँने जिम्मेवारी थियो । तर, म्यानचेस्टर युनाइटेडसँगको खेल हुनु केही दिनअघि मात्रै काभानी पनि घाइते भए । पिएसजिको आक्रमणको जिम्मा एम्बाप्पेको एक्लो काँधमा आयो । तर, उनले आफ्ना समर्थकहरूलाई निराश हुन दिएनन् ।   

ओल्ड ट्राफोर्डमा उनले यति तीव्र गतिमा दौडिए कि, उनलाई भेट्न म्यानचेस्टरका डिफेन्डरहरूलाई मुश्किल भयो । उनकै गोल मद्दतले पिएसजिले जित्यो । टुखेल पहिलेदेखि नै एम्बाप्पेको प्रशंसक थिए । म्यानचेस्टरसँगको खेलपछि झन् बढी प्रशंसक बने । 

‘अरू चाहिँ फुर्सद मिल्यो कि क्लब जान्छन्, पैसा उडाउँछन्, एम्बाप्पे चाहिँ टेलिभिजनमा फुटबल हेरी बस्छन्,’ टुखेलले भने । 

विश्वकपबाट कमाएको करिब चार लाख युरो उनले बिरामी र अपांग बालबालिकालाई खेलकुद सिकाउने एउटा संस्थालाई दिए । ‘यसले मेरो जीवन बदलिदैंन तर उनीहरूको बदलिन्छ,’ उनले भने ।

व्यक्तिगत पदक र सम्मानमा रोनाल्डो र मेस्सीको वर्चस्व रहे पनि एम्बाप्पेलाई फुटबलको नयाँ स्टार मानिन्छ । ‘मैले रोनाल्डो र मेस्सीविरूद्ध पनि खेलेको छु, तैपनि म भन्छु – एम्बाप्पे जति फुर्तिला कुनै फुटबलर छैनन्,’ आइसल्यान्डका स्टार योहान बर्ग गुडमुन्सोन भन्छन् । सन् २०१८ को अन्त्यतिर उनले एम्बाप्पे र फ्रान्सविरूद्ध खेलेका थिए ।

एक सय ८० मिलियन युरो मुल्यका फुटबलर । विश्वकप विजेता । सिनियर खेलमा ८४ गोल – फ्रान्सका लागि १० र विश्वकप विजय यात्रामा चार । दुई वर्षदेखि लिग वानको लगातार च्याम्पियन । अनि टाइम पत्रिकामा कभर स्प्रेड ।

व्यवसायिक फुटबल खेल्ने बहुसंख्यक खेलाडीका लागि यति नै पर्याप्त छ । तर एम्बाप्पे भर्खर खेल्न सुरू गर्दैछन् । चाहना र दृढता सहित उनका खुट्टाहरू जमिनमा बलियोसँग जमेका छन् ।

गोल डट कम र अन्य एजेन्सीको सहयोगमा 

प्रकाशित मिति: ०७:५९ बजे, शनिबार, फागुन ४, २०७५