ललितपुर मेयर कप क्रिकेट : कोसीविरुद्धको खेलमा एपिएफ विजयी
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै कोसीले निर्धारित २० ओभरको खेलमा पाँच विकेट गुमाएर ८७ रन बनायो।
काठमाडाैं, चैत ११ : सशस्त्र प्रहरी बलको एपीएफ क्लबले यहाँ जारी ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशलाई पराजित गरेको छ। एपीएफले कोशीलाई सात विकेटले पराजित गरेको हो।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै कोसीले निर्धारित २० ओभरको खेलमा पाँच विकेट गुमाएर ८७ रन बनायो। एपीएफले ८८ रनको विजयी लक्ष्य १८ दशमलव एक ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो।
एपीएफका लागि ममता चौधरीले अविजित २१, कप्तान सीता राना मगरले १९, इन्दु बर्माले १८ तथा ज्योती पाण्डे र रोमा थापाले ११/११ रन बनाइन्। बलिङतर्फ कोशीका लागि एलिशा खादिया, रुबिना क्षेत्री र निशा साहले एक एक विकेट लिइन्।
यसअघि ब्याटिङ गर्दै कोशीका लागि काजल श्रेष्ठले २९, कप्तान रुबिना क्षेत्रीले २४ र अप्सरी बेगमले २२ रन बनाइन्। बलिङतर्फ एपीएफका लागि सीता राना मगरले तीन तथा इन्दु बर्माले एक विकेट लिइन्। जितसँगै एपीएफ क्लब अङ्क तालिकाको शीर्ष स्थानमा पुगेको छ।