कागेश्वरी मनोहराको खेलकुद सहरको सपनामा राखेपको ऐक्यबद्धता
विभिन्न खेलका पूर्वाधार तयार पार्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता संचालन गर्ने र खेलाडी उत्पादन र तयार गर्ने अभियानमा राखेपले विशेष साथ र सहयोग गर्ने प्रतिबद्धता पनि सो अवसरमा व्यक्त गरियो।
काठमाडाैं, चैत ११ : कागेश्वरी मनोहरालाई खेलकुदको सहर बनाउने महत्वाकांक्षी योजनालाई राष्टिय खेलकुद परिषद्ले पनि सहयोग गर्ने प्रतिबद्धतासहित समर्थन गरेको छ ।
खेलकुदका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण गर्ने र खेलकुदको माहोल बनाउँदै विशिष्ट योजनासहित अगाडि बढ्ने तयारी गरेको कागेश्वरी मनोहरा र राष्टिय खेलकुद परिषदबीच खेलकुद नगरीको अभियानलाई सार्थक बनाउन आवश्यक गृहकार्य सहित अगाडि बढ्ने सैद्धान्तिक सहमति भएको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा राखेप सदस्य सचिव टंकलाल घिसिडले कागेश्वरी मनोहरा नगरपालिकाले देखेको सपना उत्कृष्ट भएकाले यसलाई सहयोग गर्न आफू तत्पर रहेको बताए।
विभिन्न खेलका पूर्वाधार तयार पार्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता संचालन गर्ने र खेलाडी उत्पादन र तयार गर्ने अभियानमा राखेपले विशेष साथ र सहयोग गर्ने प्रतिबद्धता पनि सो अवसरमा व्यक्त गरियो।
कागेश्वरी मनोहराले खेल स्थल निर्माणका लागि आवश्यक जग्गाहरु उपलब्ध गराउने प्रतिबद्धता पनि सो अवसरमा मेयर उपेन्द्र कार्कीले व्यक्त गरे।
कागेश्वरी मनोहराले उपलब्ध गराएका जग्गाहरुको अध्ययन गरी डिटेल प्रोजेक्ट रिर्पोट तयार गरी अगाडि बढ्नका लागि राष्ट्रिय खेलकुद परिषद्ले आवश्यक बजेट विनियोजन गर्ने पनि सदस्य सचिव घिसिड।ले जानकारी दिए।
कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले खेलकुद नगरी बनाउने महा अभियानमा राष्टिय खेलकुद परिषद्लाई जोड्न पाउदा आफूलाई गर्वको अनुभुति भएको बताए।
राखेप सदस्य सचिवको खेलकुद प्रतिको लगाव र चिन्ताका कारण पनि आफनो अभियान सोचेभन्दा सफल हुने मेयर कार्कीको दाबी छ।
यसैबीच कागेश्वरी मनोहरा नगरपालिकाले आगामी मे मा काठमाडौंमा आयोजना हुने एसीसी मेन्स प्रिमियर लिग क्रिकेट प्रतियोगिताका खेलहरू मुलपानी क्रिकेट मैदानमा पनि संचालन हुने विषयले आफुलाई थप हर्षित बनाएको बताउँदै सो प्रतियोगिता सफल बनाउनका लागि नगरपालिकाले सवै खालका सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।











