हिमपहिरोमा हराएका पर्यटक खोज्न सैनिक हेलिकोप्टर परिचालन
काठमाडौं, माघ ६ : गत शुक्रबार अन्नपूर्ण क्षेत्रको हिङ्कु ओडारबाट हराएका पर्यटन तथा गाईडको खोज्ने नेपाली सेनाको हेलिकप्टर घटनास्थल पुगेको छ। बाक्लो हिम....

काठमाडौं, माघ ६ : गत शुक्रबार अन्नपूर्ण क्षेत्रको हिङ्कु ओडारबाट हराएका पर्यटन तथा गाईडको खोज्ने नेपाली सेनाको हेलिकप्टर घटनास्थल पुगेको छ। बाक्लो हिमपातको कारण खोजीमा समस्या भएको जनाएको छ।
घटनास्थलमा भारी हिमपातका कारण पैदलमार्गबाट खोजी गर्न समस्या भएपछि सोमबारदेखि नेपाली सेनाको हेलिकप्टर प्रयोग गरिएको हो। सैनिक हेलिकप्टर घटनास्थल हिङ्कु पुगेको छ।
पोखराबाट सोमबार बिहानै सेनाको हेलिकोप्टर घटनास्थलतर्फ गएको पर्यटन विभाग निर्देशक मीरा आचार्यले बताइन्। हिमपहिरो लगतै खराब मौसमका कारण बेपत्ताको खोजी हुन नसकेपछि आईतबार निजी कम्पनीका हेलिकोप्टर प्रयोग गरिएको थियो।
आईतबारको प्रयास सफल नभएपछि सोमबार नेपाली सेनाको हेलिकोप्टर घटनास्थलतर्फ पठाएको उनले बताइन्। अन्नपूर्णको देरालीबाट हराइरहेका उनीहरुको खोजीका लागि हेलिकप्टरमा नेपाली सेनाका नौ सैनिक, हिमालयन उद्धार एसोसियसनका एकजना गाइड, नेपाल पर्वतारोहण एसोसियसनका अध्यक्ष सन्तवीर लामा, टानका एक प्रतिनिधि र स्थानीय प्रतिनिधि रहेका छन्।
बेपत्ता पर्यटक तथा गाईडको खोजीमा खटिएका ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का सदस्य विजय केसीका अनुसार हिमपात जारी रहेको र बाक्लो हिउँका कारण हिमपहिरोस्थलमा पुग्नै कठिन छ। ‘हिमपात जारी रहेकाले खोजतलास गर्न समस्या भएको छ,’ केसीले भने।
शुक्रबारको हिमपहिरोमा परि चारजना कोरियाली र तीनजना नेपाली गाइडसहित सातजना हराइरहेका छन्। कोरियाली नागरिक ५७ वर्षीय ली मिन सु, ५३ वर्षीया किम सूक जा, ५९ वर्षीय जियोङ पिल बोङ र ३८ वर्षीया चोई ह्यो वन र तीमध्ये नेपाली गाइड सरोज परियार, मिनबहादुर लामा र छिरिङ भोट (शेर्पा) हराएका टानले जनाएको छ।











